घटना

भोटेकोसीको विनाशकारी बाढीबीच १ हजार ६ सयभन्दा बढी विद्यार्थीको उद्धार, प्रधानाध्यापक दवाडीको साहसलाई सलाम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नुवाकोट , ११ भाद्र । तिब्बततर्फबाट उर्लिएर आएको लेदोसहितको विनाशकारी भोटेकोसी बाढीले नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा ठूलो क्षति पुर्‍याइरहेका बेला त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका १ हजार ६ सय ४३ विद्यार्थी जोखिममा परेका थिए। तर विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी र शिक्षक प्रदीप पण्डितको समयमै गरिएको उद्धार प्रयासका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

बिहान करिब ९:१५ बजे बाढीको गर्जन सुनेपछि प्रधानाध्यापक दवाडी र शिक्षक पण्डितले तत्काल विद्यालयमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजान थालेका थिए। विद्यालय परिसर र महिला छात्रावासमा रहेका विद्यार्थीलाई डाँडातर्फ पठाउने क्रममा उनीहरूले आफ्नो सुरक्षासमेत बेवास्ता गरेका थिए।

विद्यालयसँगै रहेको महिला छात्रावासमा बाढीको प्रभाव पर्न थालेपछि त्यहाँ रहेका ३० जना छात्रालाई तत्काल सुरक्षित स्थानमा सारिएको प्रधानाध्यापक दवाडीले बताएका छन्।

विद्यालयका भवनहरूमा बाढी पस्नुअघि नै सबै विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाइएको र आफू तथा शिक्षक पण्डित अन्तिममा विद्यालयबाट बाहिरिएको दवाडीको भनाइ छ। उनका अनुसार बाढी विद्यालय परिसरमा प्रवेश गर्नुअघि विद्यालयभित्र कुनै पनि विद्यार्थी बाँकी थिएनन्।

बाढीले त्रिशूली बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सञ्चार सेवा र विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ। सञ्चार टावर र विद्युत् संरचनामा क्षति पुगेपछि डाँडामा आश्रय लिएर बसेका करिब ५० जना शिक्षक, कर्मचारी तथा विद्यार्थीसमेत सम्पर्कविहीनजस्तो अवस्थामा छन्।

यसैबीच, ‘सबै विद्यार्थी बाढीमा बगे’ भन्ने किसिमका अफवाह फैलिन थालेपछि अभिभावकमा थप त्रास उत्पन्न भएको छ। प्रधानाध्यापक दवाडीले भने उक्त खबर गलत भएको स्पष्ट पारेका छन्। उनले आफूहरूले सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएको र धेरैजसो विद्यार्थी आ–आफ्नो घरसमेत पुगिसकेको जानकारी दिएका छन्।

भौतिक संरचनामा ठूलो क्षति पुगे पनि समयमै उद्धारका कारण १ हजार ६ सय ४३ विद्यार्थी र छात्रावासमा रहेका ३० छात्राको ज्यान जोगाउन सफल भएको विद्यालय पक्षको भनाइ छ। विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी विद्यार्थीको उद्धारमा खटिएका प्रधानाध्यापक दवाडी र शिक्षक पण्डितको साहस तथा तत्परताको अहिले प्रशंसा भइरहेको छ।

यद्यपि, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले डाँडामा आश्रय लिइरहेका शिक्षक, कर्मचारी र विद्यार्थीको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।