टिमुरे बाढीमा कान्लाले जोगायो ज्यान

रसुवा । रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट एक बैंकर वासुदेव आचार्य संयोगवश ज्यान जोगाउन सफल भएका छन्। बाढीको भेलले हुत्याएर कान्लामा पुर्याएपछि आफूले घस्रिएर माथि चढी ज्यान जोगाएको आचार्यले बताएका छन्।
बाढी आउँदा आफूहरूलाई के भइरहेको छ भन्ने बुझ्ने वा अरूलाई खबर गर्ने समयसमेत नपाएको उनले बताए। सुरुमा भूकम्प आएको हुनसक्ने ठाने पनि केही क्षणमै माथिबाट ठूलो भेल कुइरीमण्डल भएर तलतिर आएको उनले बताए।
‘भाग्दाखेरि त्यहाँ कसैलाई भागौँ भन्न भ्याउने स्थिति नै थिएन। भूकम्प भन्ने सोचेको थिएँ। तर, माथिबाट कुइरीमण्डल भएर ठूलो भेल, हावाहुरी वा सुनामी आएजस्तो देखियो,’ आचार्यले आफ्नो अनुभव सुनाउँदै भने।
अचानक आएको विपत्तिबाट बच्न उनी सोचविचार नगरी दौडिए। ज्यान जोगाउने क्रममा आफू कसरी भागेँ भन्ने समेत थाहा नभएको उनको भनाइ छ।
‘कसरी भागियो, म आफैँलाई पनि थाहा छैन। त्यो छालले हान्दा म हुत्तिएर कान्लामा पुगेँ। कान्लामा पुगेर पनि ढलिनँ। त्यही भएर माथि घस्रिएर चढ्न सकेँ,’ उनले भने।
आचार्यका अनुसार बाढीको भेलले आफूलाई कान्लासम्म नपुर्याएको भए ज्यान जोगाउन कठिन हुने थियो। ‘म कान्लामा नपुगेको भए मलाई पनि बाढीले ढालेर त्यहीँ पुर्थ्यो,’ उनले भने।
टिमुरेमा आएको बाढी अत्यन्तै तीव्र गतिमा आएको र त्यसबाट बच्न मानिससँग सोच्ने वा अरूलाई सावधान गराउने समयसमेत नरहेको उनले बताएका छन्। उनको अनुभवले विपत्तिका बेला केही सेकेन्डको निर्णयले समेत जीवन र मृत्युबीचको फरक पार्न सक्ने देखाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
