भोटेकोशी बाढीमा बेपत्ता एकै परिवारका पाँच सदस्यको कुशको शव बनाएर अन्त्येष्टि

नुवाकोट । भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका एकै परिवारका पाँच सदस्यको लामो समयसम्म अवस्था पत्ता नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
नुवाकोटको शोले बजारबाट बाढीपछि बेपत्ता भएका बुबा, आमा, काका, काकी र बहिनीको अवस्था लामो समयसम्म पनि पत्ता नलागेपछि परिवारले बुधबार काठमाडौंको तारकेश्वर नगरपालिका–लोलाङस्थित बोहोराटारनजिक रहेको किरियापुत्री भवनमा कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।
बेपत्ता आफन्तको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेपछि नीराजन पौडेलले हिन्दू संस्कारअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका हुन्।
बाढीले परिवारका पाँच सदस्यलाई एकैपटक बेपत्ता बनाएपछि पौडेल परिवार गहिरो शोकमा डुबेको छ। लामो समयसम्म आफन्त फर्किने आशामा बसेका परिवारजनले अन्ततः भारी मनका साथ अन्त्येष्टि संस्कार गर्नुपरेको हो।
भोटेकोशीमा आएको भीषण बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि अझै केही मानिस बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
आफन्तको अवस्था पत्ता नलाग्दै प्रतीकात्मक रूपमा अन्त्येष्टि गर्नुपर्ने बाध्यता परिवारका लागि अत्यन्त पीडादायी बनेको छ। बेपत्ता आफन्त फर्किने आशा र अन्त्येष्टि गर्नुपर्ने बाध्यताबीचको यो पीडा पौडेल परिवारका लागि कहिल्यै नबिर्सिने दुःखद अध्याय बनेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
