कैलालीका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण

धनगढी । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ।

प्रदेशस्तरीय मल वितरण व्यवस्थापन समितिको २०८३ कात्तिक १० गतेको बैठकको निर्णयअनुसार जिल्लाका स्थानीय तहलाई युरिया र डीएपी मलको कोटा छुट्याइएको हो। कम्पनीले सम्बन्धित स्थानीय तहका मल वितरण व्यवस्थापन समितिलाई निर्धारित कोटाभित्र रहेर विक्रेतालाई मलको परिमाण निर्धारण गर्न आग्रह गरेको छ।

कम्पनीको प्रादेशिक कार्यालयले कात्तिक १० गते पत्र पठाउँदै अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार तोकिएको समयभित्र विक्रेतालाई उपलब्ध गराउनुपर्ने मलको परिमाण सिफारिस गरी पठाउन अनुरोध गरेको छ। साथै, कार्यविधिअनुसार मल बिक्रीवितरण भए–नभएको अनुगमन तथा निरीक्षण गर्न पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

निर्धारित कोटाअनुसार धनगढी उपमहानगरपालिकाले २ हजार ७१ बोरा युरिया र १ हजार ८ सय ६३ बोरा डीएपी मल पाउनेछ। गोदावरी नगरपालिकाका लागि १ हजार ८ सय ९३ बोरा युरिया र १ हजार ६ सय ३० बोरा डीएपी छुट्याइएको छ।
त्यस्तै, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिका तथा कैलारी, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाका, जोशीपुर, जानकी गाउँपालिका र टिकापुर नगरपालिका लागि पनि मलको कोटा निर्धारण गरिएको छ।
कम्पनीले स्थानीय तहलाई प्राप्त कोटाभन्दा बढी मल वितरण नगर्न र अनुदानको मल तोकिएको कार्यविधिअनुसार किसानसम्म पुगे–नपुगेको अनुगमन गर्न आग्रह गरेको छ।
स्थानीय तहअनुसार मलको कोटा निर्धारण भएपछि अब सम्बन्धित समितिले विक्रेतालाई उपलब्ध गराइने मलको परिमाण सिफारिस गर्नेछन्। यसबाट अनुदानको मल वितरणलाई व्यवस्थित बनाउन तथा बिक्रीवितरणमा निगरानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


