टीकापुर बजारमा संयुक्त अनुगमन : म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

टीकापुर, २० कार्तिक । कैलालीको टीकापुर बजारमा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बिक्री भइरहेको पाइएपछि संयुक्त अनुगमन टोलीले ती सामग्री बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलाली, टीकापुर नगरपालिका लगायत सरोकारवाला नियमनकारी निकायका प्रतिनिधि सम्मिलित टोलीले बुधबार (१९ कार्तिक) बजारका विभिन्न पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद समाप्त भएका पेय तथा खाद्य सामग्री फेला परेपछि टोलीले ती सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको हो । बजारमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री वितरण रोक्ने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ ।

टोलीले व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, उत्पादन तथा उपभोग्य मिति जाँच गरेर मात्रै बिक्री गर्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।


