कञ्चनपुरमा जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ।
एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए। साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए।

गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन पाण्डेयले जानकारी दिए।’स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सक्यौँ’ उनले भने, ‘खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पुर्याउन सकेन। हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेका छौँ।’
वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको छ। हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
