सन्त निरंकारी सत्संग भवन अछामको साफेबगरमा विशाल सत्संग सम्पन्न

अछाम (साफेबगर), २० मंसिर । सन्त निरंकारी सत्संग भवन अछामको साफेबगरमा विशाल सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावलले निरंकारको आधार गुरमतको अनुसार हुनु पर्दछ । यदि निरंकारको आधार लिएर गुरमतको अनुसार जीवन पद्धतिको विकास हुन्छ भने हामी चौरासी लाख योनिबाट पार पाउन सक्छौ । जीवन आनन्दमय हुन सक्छ । परिस्थिति परिवर्तन भइरहेको हुन्छ तर हाम्रो मनको अवस्था भने एक जस्तै हुनु पर्दछ, मनको विचलन कहिल्यै हुुनु हुँदैन तबमात्र सत्गुरुले प्रदान गरेको ज्ञान टिक्न सक्छ । आज मानव प्राणी मायाको पछाडि दौडी रहेको छ । माया के हो त भन्दा धन–सम्पत्ति मात्र माया होइन । पुत्र–परिवार, हामीमा भएको कामना–वासना आदि पनि माया हो । यसले हामीलाई सत्संगबाट वञ्चित गरेको हुन्छ । जहाँ यसको हावी हुन्छ, त्यहाँ सत्संगतिर हाम्रो मन लाग्दैन । यसरी जसले यस निराकारलाई जानेर मायालाई एक साधनको रुपमा मात्र अपनाउँछन् भने यो हावी हुन पाउँदैन । पुत्र–परिवार, धन–सम्पत्तिले शान्ति पाउन सकिदैन । यसबाट शान्ति पाईन्छ भन्नु भ्रम हो । जुन मानवले निराकार रुपी धनलाई पाएको छ त्यसले सधैं सुखी, आनन्द र सन्तोष रुपी जीवन व्यतित गर्न सक्छ । राम रतन धन प्राप्त भइसकेपछि अरु सबै धन–सम्पत्ति धूलो सरह हुन्छन् । आफूसंग रहेको धन–सम्पत्तिको अभिमान गर्नु व्यर्थ हो । यो सबै ईश्वरको कृपाबाट प्राप्त भएको हो, गर्ने गराउने सबै उसको नै काम हो । यस प्रकारको भाव हाम्रो मनमा आउँछ भने मात्र हामीले शान्ति प्राप्त गर्न सक्छौ । जुन प्रकारले एउटा कमलको फूल पानीमा फुलेको हुन्छ, त्यो जति–जति पानीको सतह बढदै जान्छ, त्यति–त्यति नै माथि बढदै जान्छ, त्यो पानीमा लिप्त हुँदैन । त्यस्तै प्रकारले ब्रम्हज्ञानी सन्त पनि संसारमा रहेर पुत्र–परिवार, धन–सम्पत्तिमा समर्पित हुँदैन । त्यसबाट टाढा नै रहन्छ, उहाँले बताउनु भयो ।


साधु बन्न सजिलो छ तर दास बन्न कठिन छ । यदि दास बन्न सक्छौ भने न हाँड रहन्छ न त मासु नै । मिरालाई केको कमि थियो तैपनि उनी भगवान श्रीकृष्णको फोटो लिएर उनलाई मेरो पति हुन भनेर पूजा गर्थिन । गुरुको कृपा भयो तब उनले गुरु रबिदासबाट ज्ञान पाइन । रबिदास कुनै ब्रम्हमण थिएनन्, उनी चप्पल सिलाउने मोची थिए । ब्रम्हज्ञानीको कुनै जाति, थर हुँदैन । मिराले ज्ञान पाउँदा फोटोलाई एकातिर राखेर नाच्न थालिन, ‘पायो रे मैने राम रतन धन पायो’ भनेर । जस्तै हामीहरुलाई पनि आफ्ना गाई–भैसीलाई छोडेर सत्संगतिर दौडी रहेका हुन्छौ । हामीलाई देखेर संसारले भन्ने गर्छ त्यहाँ किन जान्छन् किनभने उनीहरुलाई ब्रम्हज्ञानको बारेमा थाह हुँदैन । मिरालाई विषको प्याला पिलाउँदा पनि अमृत हुन गयो । कलियुगमा मिराको जस्तो भक्ति सम्भव छ भन्दा सम्भव छ किनभने सत्गुरुको भएपछि सबै कार्य सम्भव हुन जान्छ । आज निरंकारी मिशनमा नरमा नारायणको अंश देखेर नै मानवको चरण पर्ने गरिन्छ । नर पूजा नै नारायण पूजा हो, उहाँले सम्झाउनु भयो ।

सेवा निःस्वार्थ भावले गरिने कार्य हो । यहाँ कुनै स्वार्थ लुकेको हुँदैन । यदि स्वार्थ छ भने त्यो सेवा कहलाईदैन । स्टेजमा बस्नु, दरी बिछ्याउनु, पानी पिलाउनु, झारु लगाउनु, शौचालयको सरसफाई गर्नु आदि सबै सेवा हुन । सेवा कहिल्यै पनि सानो ठुलो हुँदैन । सेवा भावमा हाम्रो मन हुनु पर्दछ । मनमतमा हिड्नु हुँदैन । जहिले पनि गुरुमतमा हिड्नु पर्दछ, त्यसबाट नै जीवन आनन्दित छ । ज्ञानलाई बुझेपछि मात्र जीवन जिउने पद्धतिको विकास हुन्छ, अध्यक्ष रावलले बताउनु भयो ।

सत्संग कार्यक्रममा गायक तेज बोहरा, धनंञ्जय, मोती सिंह, कुल बहादुर, खम्म, नवराज, राम बहादुर, कासीराम, झंकर, कृष्ण खड्का, रुप राज, धर्म सिंह, रघुनाथ, देवराज, जय बहादुर साउँद (अछाम संयोजक), धन बहादुर, झंकर (दर्ना), ज्ञान प्रचारक पूर्ण बहादुर स्वाँर, नर बहादुर, अननित, नैन बहादुर, राम बहादुर, तेज बडाहित, जेसिका, ममता, भगवती, करिश्मा, सरस्वती, बालिका, निर्मला, समिरा, सिमरण, निर्मला, कोकिला, धना, बिमा, सनल, पवन, भजन र जनक भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन राम बहादुर भूलले गरेका थिए ।

स्मरण रहोस अछामको साफेबगरमा रहेको निरंकारी सत्संग भवन नजिक गेष्ट हाउसको निर्माण कार्य थालनी गरिएको छ । सन्त निरंकारी मण्डल नेपालको १२ लाखको आफ्नै लगानीमा उक्त अथिति कक्षाको निर्माण गरिन लागेको कुरा अछाम संयोजक जय बहादुर साउँदले बताएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.