टीकापुर

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुरः बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।

टीकापुरमा सङ्घीय सरकार र स्थानीय पालिकाको प्रयासबाट छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेका छन्। यसका साथै प्रदेश स्वास्थ्य निर्देशनालयले समेत कुपोषण भएका बालबालिकाको खोजीमा सघाइरहेको छ। टीकापुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामार्फत बालबालिकाको पोषण लेखाजोखा गर्ने, कुपोषित बालबालिकाको उपचारका कार्य भइरहेका छन्।

बिज्ञापन

टीकापुरमा अहिले ३० बालबालिका शीघ्र कुपोषण भएका र एक सय २० बालबालिका कुपोषणको जोखिममा रहेका तथ्याङ्क छ। स्वास्थ्यकर्मी नै समुदायमा तौल र लम्बाइसमेत नापजाँच गरी पोषणको लेखाजोखा गर्न थालेपछि गत वर्षका तुलनामा टीकापुरमा यस वर्ष कुपोषण भएका बालबालिका बढी भेटिएका नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। सरकारले देशैभरि कुपोषणको जोखिममा रहेका बालबालिका खोजीका लागि स्मार्ट सर्भे गरेको छ, जसमा देशैभरि कुपोषित बालबालिकाको सङ्ख्या बढी देखिएको छ।

विगतमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा पाखुराको नाप र तौललाई मात्र आधार मानेर गरिने कुपोषण परीक्षण हाल स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा मापन थालेपछि कुपोषण भएका बालबालिका बढिरहेका छन्। टीकापुर वनगाउँकी मीना चौधरीको दोस्रो बच्चा १५ महिनाको छ। उनको बच्चालाई कुपोषण भएको छ। पन्ध्र महिनामा छ केजीमात्र तौल भएपछि टीकापुर अस्पतालमा उपचारपछि उपचारात्मक तयारी खाना खुवाइरहनुभएको छ। एक महिना नियमित खाना खुवाएपछि एक केजी तौल बढेको छ। 

चिकित्सकका अनुसार तीन महिनासम्म नियमित तयारी खाना खुवाउन भनिएको छ । विगतमा राम्ररी बच्चा स्याहार गर्न नसकेकी मीना आजभोलि बच्चाकै स्याहारमा लागिरहेकी छिन्। ‘गाउँघर क्लिनिकमा बच्चाको वृद्धि अनुगमनका बेला स्वास्थ्यकर्मीले शीघ्र कुपोषण भएको छ’ उनी भन्छिन्, ‘पहिलो बच्चा स्वस्थ थियो, दोस्रो बच्चा राम्ररी हुर्काउन सकिएन, अहिले तयारी खाना खुवाइरहेकी छु।’टीकापुर नगरपालिकाले पोषण सुधारका लागि थुप्रै प्रयास गरेको छ। विगतमा टीकापुर अस्पतालमा मात्र रहेको पोषण प्रवद्र्धन बहिर्गमन उपचार केन्द्र हाल वडास्तरमा रहेका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा समेत विस्तार गरिएको छ। हाल टीकापुर अस्पतालसहित नारायणपुर, धनसिंहपुर स्वास्थ्यचौकी, विजयनगर, अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा समेत उपचार केन्द्र स्थापना गरी बालबालिकाको पोषण सुधारका प्रयास भइरहेका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।