घटना

बालिकालाई ‘फकाउन’ कार्यालय सहयोगी परिचालन गर्ने हाकिमविरूद्ध पक्राउ पुर्जी जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष बालकुमार खनालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

उनीविरूद्ध बाल यौन दुराचार कसुरमा आइतबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका एक प्रहरीले जानकारी दिए। 

बिज्ञापन

खनालले १३ वर्षीया बालिकालाई आफूसँग सम्बन्ध राख्न फकाइदिन भनेर कार्यालयकै सहयोगी प्रमिला विश्वकर्मालाई परिचालन गरेको आरोप छ।

प्रमिला साउन २१ गते नै पक्राउ परिसकेकी छन्। 

उनकै बयानका आधारमा प्रहरीले खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतसँग अनुमति लिएको थियो। अदालतले खनालविरूद्ध पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ अनुमति दिएको हो।

‘प्रमिलाले खनालकै आदेशअनुसार बालिकालाई प्रलोभनमा पार्न खोजेको बयान दिएकी छन्,’ ती प्रहरीले भने, ‘खनालले अन्य महिलाहरूलाईसमेत प्रलोभनमा पारेर सम्बन्ध राख्ने गरेको अनुसन्धानमा खुलेको छ।’ 

प्रमिलालाई नियन्त्रणमा लिएर सोधपुछ थालेदेखि अध्यक्ष खनाल फरार थिए। पक्राउ पुर्जी जारी भएपछि उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

आफ्ना हाकिमसँग ‘सम्बन्ध राख्न’ भन्दै बालिकालाई फकाउने कार्यालय सहयोगी पक्राउ

आफ्नो कार्यालयका हाकिमसँग यौन सम्बन्ध राख्न भन्दै एक बालिकालाई फकाएको आरोपमा कार्यालय–सहयोगी पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार जिल्ला खेलकुद विकास समितिका कार्यालय सहयोगी  प्रमिला विश्वकर्मा पक्राउ परेकी हुन्।

प्रमिलाले अध्यक्ष खनालसँग यौन सम्बन्ध राख्न भन्दै १३ वर्षीया बालिकालाई फकाएको अडिओ रेकर्ड पनि प्रहरीले पाएको छ।

बालिकाले दिएको जाहेरीका आधारमा उनलाई साउन २१ गते पक्राउ गरिएको हो। उनीविरूद्ध बालबालिका सम्बन्धी ऐनको बालयौन दुराचार कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको इन्स्पेक्टर भट्टराईले बताए।

‘सोधपुछ भइरहेको छ, हामीले अनुसन्धान अगाडि बढाएका छौं,’ इन्स्पेक्टर भट्टराईले भने।

 बालिका कक्षा ८ मा पढ्छिन्। उनका आमाबुबा रोजगारीका निम्ति भारतमा छन्। उनी आफ्नी बहिनीका साथमा आफन्तको घर नजिकै डेरा लिएर बसेका छिन्।

उनी पढ्ने स्कुल र सो कार्यालयको खेलमैदान एकै ठाउँमा पर्छ।

जाहेरी अनुसार प्रमिलाले एक दिन बालिकालाई उनकी बहिनीमार्फत बोलाउन पठाएकी थिइन्।

‘तिम्रो दिदीलाई बोलाऊ, कम्प्युटर सिकाइदिन्छु, जागिर लगाइदिन्छु भनेर बहिनीलाई भनेर पठाउनु भएछ,’ बालिकाले भनिन्, ‘बहिनीलाई किन यस्तो भनेर पठाउनुभएको होला भन्ने लागिरहेको थियो।’

त्यसपछि साउन ११ गते साँझ ५ बजेतिर बालिकाको प्रमिलासँग भेट भयो।

‘त्यति बेला ठूलो मान्छेसँग संगत गर, खेलमा पनि लगाइदिनु हुन्छ भन्नुभएको थियो। खास वास्ता गरिनँ,’ बालिकाले भनिन्।

१५ गते उनी भलिबल खेलिरहेकी थिइन्। प्रमिला पनि उनीहरूसँगै खेलिन्।

‘पछि माथि भर्‍याङ उक्लिँदै गर्दा तिमीले ठूलोमान्छेसँग संगत गरेको भए हुन्थ्यो, कोही चोखो हुँदैन भनिरहनुभएको थियो,’ उनले भनिन्, ‘त्यसमा पनि मैले केही जबाफ फर्काइनँ।’

बालिकाका अनुसार प्रमिलाले विभिन्न प्रलोभन देखाइरहिन्।

‘तिमी सरसँग जाने कि नजाने भनेर १७ गतेसम्म भन्नू भन्नुभयो,’ उनले भनिन्, ‘पटक पटक त्यस्तो भनेपछि सरलाई भनिदिने सोचेर मोबाइलमा कुरा रेकर्ड गरेँ।’

प्रमिलाले उनलाई फकाउँदै गरेको भनिएको अडिओमा पनि प्रलोभनमा पार्न खोजेको सुनिन्छ। सो आवाज आफ्नै हो भनेर प्रमिलाले स्वीकार गरिसकेको इन्स्पेक्टर भट्टराईले जानकारी दिए।

रेकर्डमा प्रमिलाले भनेकी छन्, ‘सरले तिमीलाई मन पराउनुहुन्छ। तिमीसँग बस्न चाहनुहुन्छ। खर्च पनि दिन्छु भन्नुभएको छ। सर विवाहित केटीसँग सम्बन्ध राख्न चाहनुहुन्न। मेरो मोबाइलमा तिम्रो फोटो देखेर मन पराउनुभएको हो।’

त्यसपछि बालिकाले कस्तो सम्बन्ध भनेर सोधेकी छन्।

प्रमिला भन्छिन्— ‘ठूला मान्छेहरूसँग संगत गर्नुपर्छ, भोलि बच्चा बसिहाल्यो भन्यो पनि औषधि हुन्छ। अहिले सम्बन्ध नराख्ने कोही हुँदैन, कोही चोखो हुँदैन। तिमीले सम्बन्ध राखे पनि हामीलाई मात्र थाहा हुन्छ। तिमीलाई मनले खाएको मान्छे भनेर भनिदिएको हो। अरू कुनै ठाउँमा लिएर जाने हो। तिमीलाई सजिलो हुन्छ। फोन बिग्रिएको रहेछ। सरले बनाइदिनु हुन्छ। बनेन भने नयाँ किनिदिनुहुन्छ।’

बालिकाले कहाँ जाने भनेर सोध्दा प्रमिलाले हुलाक डाँडा भन्छिन्। उनले ‘सर’ को नामसमेत सोधेपछि प्रमिलाले नाम पनि भन्छिन्।

विभिन्न प्रलोभन देखाएर प्रमिलाले फकाउँदै गरेको कुराकानीको २५ मिनेटसम्मको रेकर्डिङ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।