ललितपुरमा एकैदिन दुईजनाको हत्या, दुई दिनमै समातिए आरोपी

ललितपुरमा एकैदिन दुईजनाको हत्या भएको छ । ललितपुर महानगरपालिका–१७ बाफलमा ८३ वर्षिय गर्जमान थापा तथा ललितपुर महानगरपालिका–६ पाटनमा २४ वर्षीय विजय राईको गत २६ पुसमा हत्या भएको हो । दुवैजनाको हत्यामा संलग्नलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी होबिन्द्र बोगटीले बताए।
इलाम घर भएका गर्जमानको डेरा नजिकै रहेको फर्निचरमा काम गर्ने भारतीयहरुले हत्या गरेका हुन्। हत्यामा संलग्न बिहारको मोतिहारी घर भएका सदाम मन्सुरी, युसुफ हवारी र मोहमद नोसालाई प्रहरीले पक्राउ गरेको हो। गर्जमानले लगाएको सुन लुट्नका लागि उनीहरुले हत्या गरेको एसएसपी बोगटीले बताए। घाँटी रेटेर उनको हत्या भएको प्रहरीले जनाएको छ।

गर्जमानका छोराको कोटेश्वरमा पसल छ। बुबा गाउँमा एक्लै भएपछि आफुसँगै ल्याएर राखेका थिए। छोरा पसलमा गएपछि डेरामा एक्लै भएका गर्जमान नजिकैकै फर्निचरमा गएर बस्दथें । त्यहाँ कार्यरत कामदारले उनले लगाएको सुन देखेपनि हत्या नै गर्ने योजना बनाएका हुन्। सोहीअनुसार चक्कु प्रयोग गरी हत्या गरी शव पोको पारी इनारमा फालेका थिए।
बुबा हराएपछि गर्जमानका छोरा पूर्णबहादुरले प्रहरीमा खोजिका लागि उजुरी दिन्छन्। शंका लागेर प्रहरीले सो फर्निचर छेउको इनारमा समेत खोजी गर्दा उनको शव भेटिन्छ । फर्निचरका कामदार रहेका सदामसँग सोधपुछ गर्दा उनले गर्जमान केही समय त्यहाँ आएर फर्किएको बताउँछन् । ‘उनीहरुमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले नै हत्या गरेको पुष्टि भएको हो,’ एसएसपी बोगटीले भने। हत्यामा प्रयोग भएको चक्कु र गर्जमानको सुनको तीन आनाको औंठी पनि प्रहरीले बरामद गरेको छ । उनीहरु भारत भाग्ने तयारी गरिरहेको अवस्थामा पक्राउ परेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
