सागर ढकाल फेरी डडेल्धुराबाट चुनाव लड्ने

डडेल्धुरा: २०७९ सालको संसदीय निर्वाचनमा डडेल्धुराबाट पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका रास्वपाका नेता सागर ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा फेरि डडेल्धुराबाट चुनाव लड्ने बताएका छन्।

उक्त निर्वाचनमा सागरले १३ हजार ४२ मत प्राप्त गरे भने देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका थिए। त्यसबेला स्वतन्त्र उम्मेदवार बनेका ढकाल अहिले रास्वपा पार्टीमा प्रवेश गरिसकेका छन्।

ढकालले आगामी चुनावमा डडेल्धुराबाटै चुनावी प्रचार–प्रसार सुरु गर्ने र पार्टीको सम्पर्क समितिसँग मिलेर युवाहरूलाई सक्रिय पार्ने तयारी थालेको बताए। उनले निर्वाचनका लागि पार्टीबाट आधिकारिक निर्णय नआए पनि आफ्नो उम्मेदवारी लगभग निश्चित रहेको स्पष्ट पारेका छन्। ‘पार्टीबाट अफिसियल रुपमा निर्णय त कसैको पनि भइसकेको छैन । लगभग मेरो फाइनल जस्तै हो ।’ उनले भने।

ढकालले डडेल्धुरामा धेरै प्रतिस्पर्धी उम्मेदवारहरू रहेको उल्लेख गर्दै प्रजातान्त्रिक परिपाटी अनुसार प्रत्येक आकांक्षीको सहभागिता स्वागतयोग्य भएको बताए। उनले मतदातासँग निरन्तर सम्पर्कमा रहेको र स्थानीय जनताको योगदानलाई महत्त्व दिँदै चुनावी तयारी अघि बढाएको पनि जानकारी दिए।सागर ढकालले अघिल्लो निर्वाचनमा डडेल्धुरामा प्राप्त मतलाई ठूलो उपलब्धि मान्दै आगामी चुनावमा फेरि प्रतिनिधिसभामा प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन्।


