तमिलनाडुको मुख्यमन्त्रीमा विजय, कहिले लिँदैछन् सपथ ?

काठमाडौँ । तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजयलाई मुख्यमन्त्रीमा मनोनीत गरेका छन्।
विजयको सपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुनेछ र उनले मे १३ भित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्नेछ। तमिलनाडु लोक भवनले यसको पुष्टि गरेको छ।

तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी अर्थात् १ सय २० जना विधायकको समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए।
राज्यपालसँगको भेटका क्रममा विजयले भीसीके र आइयूएमएल पार्टीहरूको समर्थनपत्र पेश गरेका थिए। उनले बहुमतका आधारमा सरकार गठनको दाबी गरेका थिए।
यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल)ले पनि टिवीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
भीसीके नेता थोल थिरुमावलवनले टिवीके नेता अधव अर्जुनलाई पार्टीको समर्थनपत्र दिएका थिए। त्यस्तै आइयूएमएलले पनि टिभिकेलाई समर्थनपत्र दिएको थियो।
भीसीकेबाट समर्थनपत्र पाएपछि अधव अर्जुनले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस, वामपन्थी दलहरू र भीसीकेलाई धन्यवाद दिएका थिए।
उनले लोकतन्त्रको रक्षा गरिने र जनसमर्थनका आधारमा विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने बताएका थिए। शुक्रबार टिभिके प्रमुख विजयले तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरेर सरकार गठनको दाबी पेश गरेका थिए। राज्यपालसँग विजयको यो तेस्रो भेट थियो।
राज्यपालसँगको भेटपछि टिवीके नेता विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी ९सीपीआई० र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का कार्यालयहरूको भ्रमण गरेका थिए र पार्टी नेताहरूसँग भेटवार्ता गरेका थिए।
२ सय ३४ सिट रहेको तमिलनाडु विधानसभा निर्वाचनमा टिवीकेले १ सय ८ सिट जितेको छ। दुई सिटबाट विजयी भएका विजयले एउटा सिटबाट राजीनामा दिनुपर्ने भएकाले टिवीकेको संख्या १ सय ७ मा झर्नेछ।
त्यसपछि सदनको संख्या २ सय ३३ मा झर्ने भएकाले बहुमतका लागि १ सय १७ सदस्यको समर्थन आवश्यक पर्नेछ।
कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आइयूएमएलले दुई–दुई सिट जितेका छन्। यसरी अहिले टिभिकेसँग १ सय २१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
