धारामा पानी छैन, सूचना ‘शुद्ध पिउने पानी’

कालीकोट, जेठ ८ गते । कर्णाली प्रदेशको मुख्य सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पतालमा खानेपानी व्यवस्थापनको कमजोरी देखिएको छ । अस्पताल परिसरमा “शुद्ध पिउने पानी” भनेर सूचना राखिए पनि धारामा पानी नआउँदा बिरामी, कुरुवा तथा सेवाग्राही समस्यामा परेका छन् ।
अस्पताल परिसरभित्र जडान गरिएका दुई ठाउँको आठवटा धारामाथि “शुद्ध पिउने पानी” लेखिएको छ । धारामा पानी भने छैन । गर्मीयाममा अस्पताल आउने बिरामी तथा आफन्तले पिउने पानी नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।


नसाको समस्या लिएर अस्पताल पुग्नुभएका रास्कोट –१ कालीकोटका रत्नप्रसाद न्यौपानेले सूचना हेरेर पानीको धारा खोल्दा पानीको थोपा समेत नचुहिने गरेको गुनासो गर्नुभयो ।
कर्णाली प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको यस अस्पतालमा दैनिक संयौं बिरामी उपचारका लागि आउने गर्छन् । तर आधारभूत आवश्यकता मानिने स्वच्छ पिउने पानीको व्यवस्थापन प्रभावकारी नहुँदा अस्पताल प्रशासनप्रति प्रश्न उठ्न थालेको छ ।
सेवाग्राहीहरूले अस्पताल प्रशासनले सूचना टाँसेर मात्र दायित्व पूरा नहुने हुँदा नियमित रूपमा पानी उपलब्ध गराउनुपर्ने माग गरेका छन् । अस्पतालजस्तो संवेदनशील स्थानमा खानेपानी अभाव हुनु दुःखद भएको अर्का बिरामी अनिपाल शाहीको भनाइ छ ।
यस विषयमा अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले पानी आपूर्तिमा अस्थायी समस्या आएको रहेछ भने वा प्राविधिक कारणले धारा सञ्चालनमा नरहेको के हो तत्काल आफुले समस्याको समाधान गर्ने बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.