राष्ट्रिय समाचार

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ : भारतका प्रधानमन्त्री मोदी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, जेठ २१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको भेटवार्ताका क्रममा उहाँले नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार मुलुक भएको बताउनुभएको हो ।

भेटवार्ताका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।”

बिज्ञापन

भारतका प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताउनुभएको छ । उहाँले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रास्वपा सभापति लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफू पूर्ण रूपमा सहमत भएको समेत उल्लेख गर्नुभएको छ ।

‘‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु’’, भेटपछि मोदीले ट्वीटर (एक्स)मा नेपाली भाषामै लेख्नुभएको छ, ‘‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’’

नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेशमन्त्री एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

मोदीसँगको भेटवार्तामा नेपाली टोलीका तर्फबाट रास्वपा सभापति लामिछानेसँगै उहाँकी धर्मपत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापाको पनि उपस्थिति रहेको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।