कमाउने एकमात्र सदस्यको निधनपछि सुनार परिवार आर्थिक संकटमा

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–७, ज्ञानेबगर निवासी स्वर्गीय खुतुलाल सुनारको निधनपछि उनका परिवार गम्भीर आर्थिक संकटमा परेको छ। परिवारका एकमात्र कमाउने सदस्यको निधन भएपछि घरपरिवारको दैनिकी नै प्रभावित बनेको छ।
परिवारमा अपांग आमा, चार छोरी र एक छोरा रहेका छन्। बाबुको निधनसँगै १५ वर्षीया प्रिङ्का सुनारमाथि परिवारको जिम्मेवारी थपिएको छ। कक्षा १० मा अध्ययनरत प्रिङ्का अहिले आफ्नो पढाइसँगै परिवारको भविष्यप्रति चिन्तित बनेकी छन्।

आर्थिक अवस्था कमजोर रहेका कारण परिवारलाई दैनिक खर्च व्यवस्थापन गर्न समेत कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। बाबुको निधनपछि अन्तिम संस्कार र तेह्र दिनको क्रिया सञ्चालन गर्नसमेत समस्या परेको परिवारको भनाइ छ।
परिवारका कान्छा सदस्य ६ वर्षीय भाइ विद्यालयमा अध्ययनरत छन्। आर्थिक अभावका कारण बालबालिकाको शिक्षादेखि दैनिक जीवनयापनसम्म प्रभावित हुने अवस्था देखिएको छ।
स्थानीयवासीले विपद्मा परेको उक्त परिवारलाई सहयोगका लागि सरोकारवाला निकाय, संघसंस्था तथा सहयोगी मनहरूलाई आग्रह गरेका छन्। उनीहरूले आर्थिक तथा मानवीय सहयोगमार्फत परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
