साउन ८–९ मा धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ आयोजना हुने

धनगढी — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुने आयोजकले जनाएको छ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष भीम बिष्टले प्रतियोगिता एकल दोहोरी गायनमा आधारित रहने जानकारी दिए। उनका अनुसार गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन् भने आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले नै गर्नेछ।

प्रतियोगितामा सबै उमेर समूहका इच्छुक कलाकारले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुन चाहनेले एक हजार रुपैयाँ दर्ता शुल्कसहित परिचय खुल्ने कागजात बुझाएर नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट प्रस्तुति दिएर पनि स्थान हासिल गर्न नसक्ने प्रतिभालाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्षको समेत कार्यक्रममा सहभागिता रहने तयारी गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकको छ।
प्रदेश अध्यक्ष बिष्टले लोक तथा दोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक बन्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखाले सह–आयोजकको भूमिका निर्वाह गर्नेछन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
