अर्थ

कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, तेस्रो मुलुकको मालसहित पहिलो रेल आईसीपी आइपुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर, ४ साउन । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका मालसामान बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम यार्डमा आइपुगेको छ।

कोलकाता बन्दरगाहबाट छुटेको रेल तीन दिनको यात्रापछि विराटनगर पुगेको हो। यससँगै भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म कार्गो ल्याउने व्यवस्था औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसले पूर्वी नेपालका उद्योगी तथा व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

पहिलो चरणमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिट क्षमताका ४० वटा कन्टेनर विराटनगर ल्याइएको छ। ढुवानीको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ।

यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकपटकमा ४५ वटासम्म ठूला कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिने बताइएको छ।

यो रेल सेवा २०८० जेठमै नेपाल र भारतका तत्कालीन प्रधानमन्त्रीहरूले उद्घाटन गरे पनि नीतिगत जटिलताका कारण सञ्चालनमा आउन सकेको थिएन। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले आवश्यक नियम संशोधन गरेपछि भने सेवा नियमित रूपमा सञ्चालन हुने बाटो खुलेको हो।

यसअघि तेस्रो मुलुकबाट आउने मालसामान बोकेको रेल भारतीय सीमावर्ती बथनाहा स्टेसनसम्म मात्र पुग्थ्यो। त्यहाँबाट पुनः ट्रकमार्फत विराटनगर ल्याउनुपर्ने भएकाले दोहोरो लोड–अनलोड, समय र अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थासँगै उक्त झन्झट हट्नुका साथै ढुवानी खर्च करिब ४० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ।

उद्योगीहरूले बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन तथा विलम्ब शुल्क पनि घट्ने भएकाले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यो सेवाको सुरुआतलाई पूर्वी नेपालको औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

यद्यपि, विराटनगर कस्टम यार्डको पूर्वाधार अझ व्यवस्थित बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्। विशेषगरी मालसामान अनलोड र भण्डारणका क्रममा वर्षा, घाम वा अन्य प्राकृतिक प्रभावबाट कच्चा पदार्थ सुरक्षित रहने व्यवस्था गर्न सके मात्र यो सेवाले दीर्घकालीन रूपमा प्रभावकारी परिणाम दिने उद्योगीहरूको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।