जंगली हात्तीबीच रात बिताएका १४ महिला अन्ततः सकुशल घर फर्किए

कञ्चनपुर, ५ साउन कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका १४ जना महिला २६ घण्टापछि सकुशल घर फर्किएका छन्।
आइतबार दिउँसो च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका उनीहरू बाटो बिराएर सम्पर्कविहीन भएका थिए। समूहमा रहेकी सुक्नीदेवी चौधरीका अनुसार च्याउ खोज्दै जाँदा उनीहरू बस्तीबाट निकै टाढा पुगेका थिए। मौसम बदली भई साँझ परेको थाहा नपाउँदा फर्किने बाटो हराएपछि उनीहरूले रात जंगलमै बिताउन बाध्य भएका थिए।

‘हात्ती कराएको आवाज सुनिन्थ्यो। सर्प र अन्य जंगली जनावरको डर थियो। एउटा ठूलो रुखमुनि घेरा बनाएर बस्यौं र डरैडरमा रात बितायौं,’ चौधरीले बताइन्।
सोमबार बिहान उज्यालो भएपछि महिलाहरूले पुनः बाहिर निस्कने बाटो खोज्न थालेका थिए। वर्षाका बीच लगातार हिँडिरहेपछि अन्ततः उनीहरूले निकुञ्जबाट बाहिरिने बाटो फेला पारे र सोमबार दिउँसो सकुशल घर फर्किएका हुन्।
महिलाहरूका अनुसार जंगलमा रहँदा उनीहरूको पटक–पटक जंगली हात्तीको बथानसँग जम्काभेटसमेत भएको थियो। मोबाइल फोन साथमा नभएकाले परिवारसँग सम्पर्क गर्न नसकेको उनीहरूले बताएका छन्।
महिलाहरू सम्पर्कविहीन भएपछि खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निकुञ्जका कर्मचारी, हात्ती तथा ड्रोनसमेत परिचालन गरिएको थियो। यद्यपि उनीहरू अन्ततः आफ्नै प्रयासमा जंगलबाट सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका हुन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
