एक महिनाकी सुत्केरी श्रीमती र नवजात छोरी छाडेर मलेसियामै अस्ताए रमेश

सल्यान, १ भाद्र । परिवारको सुखद भविष्य र सन्तानको उज्ज्वल भविष्यको सपना बोकेर रोजगारीका लागि मलेसिया पुगेका सल्यानका रमेश बोहराको सडक दुर्घटनामा मृत्यु भएको छ।

कुमाख गाउँपालिका–७, जिमाली पुइंयोखोलाका बोहरा बिहान करिब ७ बजे साइकलमा ड्युटीमा जाने क्रममा एउटा गाडीको ठक्करमा परेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

रमेशको असामयिक निधनले उनको परिवारमा ठूलो बज्रपात परेको छ। उनकी श्रीमती सीता भण्डारी बोहरा शल्यक्रियामार्फत भर्खरै आमा बनेकी थिइन्। घरमा एक महिनाकी नवजात छोरी र सुत्केरी श्रीमतीलाई छाडेर रमेशको निधन भएपछि परिवारको खुसी एकाएक शोकमा परिणत भएको छ।

परिवारको भविष्य सुरक्षित बनाउने र छोरीको उज्ज्वल भविष्यको सपना बोकेर विदेशिएका रमेशको दुःखद निधनको खबरले गाउँ नै शोकमा डुबेको छ। घटनापछि परिवार, आफन्त तथा स्थानीयवासी स्तब्ध बनेका छन्।


