आस्था /आध्यात्म

बडीमालिकामा आजदेखि पूजा तथा मेला सुरु, दर्शनार्थी बढ्ने अनुमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा, १ भाद्र । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा आज सोमबारदेखि पूजा तथा मेला सुरु भएको छ। दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा सुरु गर्ने निर्णय गरिएको हो।

जिल्ला समन्वय समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले दर्शनार्थीको भीड व्यवस्थापन गर्न मुख्य पूजाभन्दा अगावै धार्मिक अनुष्ठान सुरु गर्ने निर्णय गरेको थियो। बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुनेछ।

मुख्य पूजा एकै दिन गर्दा अत्यधिक भीड हुने भएकाले यस वर्ष अगाडिदेखि नै पूजा सुरु गरिएको पुजारी पाध्यायले बताउनुभयो। बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा छ।

गत वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको बताइएको छ। देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने भएकाले यस वर्ष संख्या अझ बढ्ने अनुमान गरिएको छ।

नेपाली सेनाले गत वर्ष प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि धार्मिक तथा पर्यटकीय आकर्षण थप बढेको स्थानीयको भनाइ छ। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्पराअनुसार डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली साउन २८ गते नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको छ।

भीड व्यवस्थापन र सुरक्षामा विशेष तयारी

बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काका अनुसार मेला तथा पूजा व्यवस्थित बनाउन स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ।

मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ। धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तु लैजान निषेध गरिएको छ।

दर्शनका क्रममा लेक लाग्ने, बिरामी पर्ने वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा उद्धार तथा स्वास्थ्य व्यवस्थापन गरिनेछ। स्थानीय तहले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने तथा आवश्यक व्यवस्थापनमा नेपाली सेनाले स्वास्थ्यकर्मीसँग सहकार्य गर्ने जनाइएको छ।

फोरजी सेवा सञ्चालनको तयारी

दर्शनार्थी तथा स्थानीयलाई सञ्चार सम्पर्कमा सहजता पुर्‍याउन यस वर्ष मेला अगावै बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। मौसम प्रतिकूल हुँदा सामग्री ढुवानीमा ढिलाइ भएकाले टावर निर्माण प्रभावित भएको बताइएको छ।

यसअघि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।