बौनियाका ४५ वर्षीय विश्वकर्मा मृत फेला, छेउमै भेटियो भरुवा बन्दुक

बौनिया, ३ भाद्र । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–३, बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मंगलबार साँझ स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार विश्वकर्मा मंगलबार साँझ करिब साढे ८ बजे जंगलमा मृत अवस्थामा भेटिएका थिए। घटनास्थलबाट प्रहरीले एउटा भरुवा बन्दुकसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार विश्वकर्माको देब्रे हातदेखि छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ। घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरी प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
वडाध्यक्ष मनऋषी आचार्यका अनुसार विश्वकर्मा सिकार खेल्न जंगल गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी एक्लै जंगल गएका थिए वा अन्य व्यक्तिसँगै गएका थिए भन्नेबारे भने अझै खुल्न सकेको छैन।
मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियास्थित दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
