कैलाली

गौरीगङ्गामा नरभक्षी बाघको त्रास, गाउँनजिकै देखिन थालेपछि सतर्कता बढाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गौरीगङ्गा, २३ असोज । कैलालीमा एक जनाको ज्यान लिएको बाघ गाउँबस्ती नजिकै देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ। दुई दिनअघि गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव सामुदायिक वनमा ४० वर्षीय कृष्ण चौधरीको ज्यान लिएको बाघ धनगढी उपमहानगरपालिकाका विभिन्न सामुदायिक वन र भारताल साझेदारी वनक्षेत्रमा घुमिरहेको पाइएको हो।

लोक कल्याणकारी विज्ञापन

डिभिजन वन कार्यालयका अनुसार बाघ धनगढी उपमहानगरपालिका–१७ को दमौलिया र धुरझन्ना क्षेत्र हुँदै वडा नं. १६ र १५ का वनक्षेत्रमा समेत देखिएको छ। बाघ गाउँबस्ती नजिकै ओहोरदोहोर गर्न थालेपछि वन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र वन क्षेत्रमा नजान आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन

डिभिजन वन कार्यालयका अधिकृत रामऔतार चौधरीका अनुसार गत साता धुरझन्ना गाउँनजिकैको सिद्धबाबा सामुदायिक वनमा बाघको ताजा पदचिह्न भेटिएको थियो। केही स्थानीयले धनगढी–१६ स्थित बेहडाबाबा मन्दिरनजिकै पनि बाघ देखेको जानकारी दिएका छन्। उक्त क्षेत्रको रामपुर गाउँ आसपास बाघको गतिविधि देखिएकाले जोखिम बढेको वनकर्मीको भनाइ छ।

बिज्ञापन

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बाघले पुनः मानिसमाथि आक्रमण गर्न सक्ने जोखिम रहेको बताए। बुढो, कमजोर वा समस्याग्रस्त बाघ बस्ती नजिक आउने सम्भावना हुने उल्लेख गर्दै उनले सतर्कता अपनाउन आग्रह गरे।

बाघको गतिविधि बढे पनि स्थानीयको वन प्रवेश भने रोकिएको छैन। च्याउ खोज्न, दाउरा, पात र घाँस संकलन गर्न मानिसहरू दैनिक वन जाने गरेका छन्। कैलारी गाउँपालिका–६, गदरियाका अनिल चौधरीका अनुसार मानिसको ज्यान गएको घटनापछि एक–दुई दिन वन जाने क्रम घटे पनि अहिले फेरि बढ्न थालेको छ।

वन अधिकृत चौधरीका अनुसार कैलारी गाउँपालिका–४ को ‘के’ गाउँ आसपासका सामुदायिक वन हुँदै बाघ भारताल वनक्षेत्रसम्म ओहोरदोहोर गर्ने गरेको छ। गत जेठमा पनि कैलारी–४ स्थित हरियाली महिला सामुदायिक वन, सयपत्री सामुदायिक वन र कैलारी–६ को भगतपुरस्थित मिलन सामुदायिक वनमा बाघ देखिएको थियो।

नरभक्षी बाघको खोजीका लागि वनकर्मी र एनटीएनसीको प्राविधिक टोली परिचालन गरिएको छ। दुई दिनसम्म ड्रोन क्यामराको सहायताले खोजी गर्दा पनि बाघ फेला नपरेको डिभिजन वन कार्यालयले जनाएको छ। बाघको गतिविधि निगरानी गर्न विभिन्न वन क्षेत्रमा स्वचालित क्यामरासमेत जडान गरिएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन