पसलमा म्याद गुज्रिएका खाद्यवस्तु, चाडपर्वलक्षित अनुगमन तीव्र

टीकापुर, २७ असोज । दसैँ–तिहारलाई लक्षित गर्दै कैलालीको टीकापुरमा बजार अनुगमन तीव्र पारिएको छ। अनुगमनका क्रममा विभिन्न पसलमा म्याद गुज्रिएका उपभोग्य वस्तु, किरा लागेका गेडागुडी तथा खाद्यपदार्थ र म्याद सकिएका पेय पदार्थ फेला परेका छन्।

चाडपर्वका बेला खाद्यवस्तुको माग बढ्ने र उपभोक्ता ठगी तथा गुणस्तरहीन सामग्री बिक्री हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्रता दिइएको हो। अनुगमनका क्रममा फेला परेका अखाद्य तथा म्याद गुज्रिएका वस्तुले उपभोक्ताको स्वास्थ्य र बजारको गुणस्तरमाथि प्रश्न उठाएको छ।

अनुगमनका क्रममा देखिएका समस्यालाई ध्यानमा राख्दै व्यापारीलाई उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह गरिएको छ। कम्पनी वा डिलरबाट सामान खरिद गर्दा म्याद र गुणस्तर जाँच गरेर मात्र बिक्रीका लागि राख्न तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु बिक्री नगर्न व्यापारीलाई सुझाव दिइएको छ।

त्यस्तै, उपभोक्तालाई पनि खाद्यवस्तु खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति र गुणस्तर अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ।
चाडपर्वका बेला उपभोक्ताले सुरक्षित र गुणस्तरीय सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउन व्यापारी, उपभोक्ता र सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ। व्यापारिक गतिविधिभन्दा उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।


