चाउचाउको बट्टाभित्र ९८२ ग्राम चरेस, कैलालीकी महिला भारतमा पक्राउ

कैलाली, ३० असोज। चाउचाउको बट्टाभित्र लुकाएर भारततर्फ लैजाँदै गरेको ९८२ ग्राम चरेससहित कैलालीमा बस्दै आएकी ५५ वर्षीया नेपाली महिला भारतमा पक्राउ परेकी छन्।

भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको गौरीफन्टा प्रहरीले सशस्त्र सीमा बल (एसएसबी) सँगको संयुक्त कारबाहीमा सुशीला शाहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई असोज २६ गते बनगवाँबाट मोहना नदी घाटतर्फ जाने जंगलको कच्ची बाटोमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।

शाहले चाउचाउको बट्टाभित्र पाँचवटा पोका बनाएर चरेस लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी नेपालबाट भारततर्फ जाँदै थिइन्।

प्रहरीका अनुसार शाहको स्थायी ठेगाना नेपालको महोत्तरीस्थित जलेश्वर नगरपालिका–७ हो। उनको हालको बसोबास कैलालीको धनगढी उपमहानगरपालिका–२, कटानमा रहेको जनाइएको छ।
घटनापछि शाहविरुद्ध गौरीफन्टा प्रहरी थानामा लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
खीरी जिल्लाका वरिष्ठ प्रहरी अधीक्षक डा. ख्याति गर्गको निर्देशनमा भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको ‘कवच योजना’अन्तर्गत उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीमा गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त टोली परिचालित थियो।


