आस्था /आध्यात्म

संयुक्त नेपाली महासङ्घको ५०औँ स्वर्ण जयन्ती वर्षमा दुर्गा पूजा उत्सव सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, १३ कात्तिक । संयुक्त नेपाली महासङ्घ, रजि. मुम्बईले आफ्नो ५०औँ स्वर्ण जयन्ती वर्षको अवसरमा आयोजना गरेको सार्वजनिक दुर्गा पूजा तथा नवरात्र उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

महासङ्घको केन्द्रीय कार्यालय तुङ्गा गाउँ, पवई, अन्धेरी पूर्वमा घटस्थापनाका दिन अक्टोबर ११ मा नवदुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा सुरु गरिएको थियो । नवरात्र अवधिभर दैनिक पूजापाठ, भजन–कीर्तन र आरती सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

उत्सवका क्रममा अक्टोबर १७ मा फूलपाती समारोह, १८ मा कालरात्रि महापूजा, सांस्कृतिक कार्यक्रम तथा स्नेह सम्मेलन र १९ अक्टोबरमा सत्यनारायण पूजा तथा महाप्रसाद भण्डारा आयोजना गरिएको थियो । अक्टोबर २१ मा नासिक ढोल, बाजागाजा, भजन–कीर्तन र धार्मिक नृत्यसहित नवदुर्गा भवानीको मूर्ति पवईस्थित तलाउमा विसर्जन गरिएको थियो ।

बिज्ञापन

मूर्ति विसर्जन समारोहमा महासङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, आजीवन सदस्य, शुभचिन्तक, स्थानीय बासिन्दा तथा महिला र बालबालिकाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा दुर्गा पूजा समिति अध्यक्ष कृष्णप्रसाद आचार्य, महासङ्घका केन्द्रीय अध्यक्ष पूर्णबहादुर कुँवर, उपाध्यक्ष रामलाल पन्त, महामन्त्री भीमराज गैरे, निवर्तमान महामन्त्री विष्णु काफ्ले, वरिष्ठ सल्लाहकार जगतबहादुर सिंह, निवर्तमान अध्यक्ष तथा थाने एरिया प्रमुख धीरबहादुर रावललगायत सहभागी थिए ।

यस वर्ष नवदुर्गा भवानीको मूर्ति दान गर्ने महासङ्घका शुभचिन्तक निरु भुसाल र गोपाल भुसाललाई संस्थाले विशेष धन्यवाद दिएको छ । त्यस्तै, दुर्गा पूजा समितिका पदाधिकारी तथा सदस्य, तुङ्गा गाउँका महिला, विभिन्न शाखा तथा एरियाका प्रतिनिधि र सहयोगदाताको योगदानको प्रशंसा गरिएको छ ।

महासङ्घले धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने उद्देश्य राखेको जनाएको छ । संस्थाले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

महासङ्घका अध्यक्ष पूर्णबहादुर कुँवरले उत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन