अनौठो

लम्कीका आर्यन नासाको अन्तरिक्षसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा छनोट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १५ कार्तिक । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुर भुर्राघाटका १६ वर्षीय आर्यन विश्वकर्मा नासा स्पेस एप्स च्यालेन्जमा छनोट भएका छन् । सानैदेखि वैज्ञानिक बन्ने सपना देखेका आर्यनले आफ्नै मेहनत, लगनशीलता र नवीन सोचका कारण अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

हाल कक्षा १० मा अध्ययनरत आर्यनले कक्षा ८ मा पढ्दै गर्दा इन्टरनेटमा हवाईजहाजका तस्बिर र भिडियो हेरेर रिमोट कन्ट्रोलबाट चल्ने नमुना हवाईजहाज बनाएका थिए । प्रत्यक्ष हवाईजहाजसमेत नदेखेका उनले थर्मोकोल, टेप, तार र ब्याट्री प्रयोग गरेर करिब दुई महिनाको मेहनतमा नमुना जहाज तयार पारेका थिए । झन्डै २० हजार रुपैयाँ खर्चेर बनाइएको उक्त जहाज एक हजार फिटसम्म उडाउन सफल भएपछि उनको प्रतिभाले धेरैको ध्यान खिचेको थियो ।

लोक कल्याणकारी विज्ञापन

आर्यनको प्रतिभाबारे दुई वर्षअघि गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि धनगढीस्थित चैतन्य पाठशालाले उनलाई आवासीय सुविधासहित छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विद्यालयका सञ्चालक गणेशराज जोशीका अनुसार कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण पढाइ खर्च विद्यालयले बेहोर्ने गरी आर्यनको जिम्मेवारी लिइएको हो ।

बिज्ञापन

विद्यालयमा प्रविधिमैत्री विज्ञान प्रयोगशाला रहेको र आर्यनले त्यहीँ बसेर विभिन्न अनुसन्धान तथा अन्वेषण गर्ने गरेको जोशीले बताए । उनका अनुसार आर्यन अध्ययन र अनुसन्धानमा निकै जिज्ञासु तथा मेहनती छन् । कहिलेकाहीँ खानासमेत छाडेर राति अबेरसम्म प्रयोगशालामा काम गर्ने उनको लगनशीलताले अहिले अन्तर्राष्ट्रिय स्तरमा अवसर प्राप्त गरेको जोशीको भनाइ छ ।

आर्यनको बाल्यकाल भने निकै सङ्घर्षपूर्ण रह्यो । उनी चार वर्षको हुँदा रोजगारीका लागि भारत गएका उनका बुवा भरत विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको थियो । त्यसको केही वर्षपछि माइला काकाको पनि भारतमै करेन्ट लागेर निधन भयो । छोराछोरीको पढाइ र परिवारको खर्च जुटाउन उनकी आमा राजेश्वरी विश्वकर्मा अहिले भारतको पुणेमा भाँडा माझ्ने काम गर्छिन् । नमुना हवाईजहाज बनाउन आवश्यक सामग्रीसमेत आमाले भारतबाटै पठाइदिने गरेकी थिइन् ।

आर्यनले अनलाइनमार्फत आफ्ना अनुसन्धान र आविष्कारबारे जानकारी गराउँदै नासासँग जोडिने प्रयास गरेका थिए । नमुना हवाईजहाज निर्माणसँगै उनले यसअघि मेडिकल ड्रोन बनाएरसमेत चर्चा कमाइसकेका छन् । अहिले राहत वितरणका काममा प्रयोग गर्न सकिने ड्रोन निर्माणमा जुटिरहेको बताइएको छ ।

महावीर पुनबाट प्रेरित आर्यनले विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्ने लक्ष्य राखेका छन् । उनका कान्छा काका निर्प विश्वकर्माले भतिजाको प्रतिभालाई अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको भन्दै खुसी व्यक्त गरे ।

सामान्य आर्थिक अवस्था र पारिवारिक सङ्घर्षका बीच पनि प्रविधिको क्षेत्रमा निरन्तर खोज तथा अनुसन्धान गरिरहेका आर्यनको छनोटले कैलाली मात्र नभई समग्र नेपालकै प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर सिर्जना गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन