सडक किनारमै सयपत्रीको बगैँचा, फूल बिक्रीबाट आम्दानी गर्दै बेलासपुरवासी

बेलासपुर, १६ कात्तिक । कैलालीको जानकी गाउँपालिका–१ स्थित बेलासपुर गाउँ यतिबेला सडक किनारमा ढकमक्क फुलेका सयपत्री फूलले आकर्षणको केन्द्र बनेको छ । स्थानीयवासीको सामूहिक प्रयासमा सडक किनारका खाली ठाउँ फूलबारीमा परिणत भएपछि गाउँको सौन्दर्य बढ्नुका साथै आम्दानीको नयाँ स्रोतसमेत थपिएको छ ।

गाउँलाई सफा, सुन्दर र आकर्षक बनाउने उद्देश्यले स्थानीयवासीले सडक किनारमा करिब तीन हजार ६ सय सयपत्रीका बिरुवा रोपेका थिए । लामो समयको मेहनत र स्याहारसुसारपछि अहिले फूल बिक्रीका लागि तयार भएका छन् । स्थानीयका अनुसार हाल करिब ४० देखि ५० किलो फूल बिक्री गर्न योग्य भइसकेका छन् ।

गाउँका बडघर तथा कृषक राजेश कठायतका अनुसार गाउँलाई फूलैफूलले सजाउने र उत्पादित फूल बिक्री गरेर गाउँमै आम्दानी भित्र्याउने उद्देश्यले अभियान सुरु गरिएको हो । उनका अनुसार फूलखेतीमा लागेको कुल खर्चको ५० प्रतिशत स्थानीयवासीले व्यहोरेका छन् भने बाँकी ५० प्रतिशत जानकी गाउँपालिकाले अनुदान उपलब्ध गराएको छ ।

उत्पादित फूल बजार मूल्यअनुसार बिक्री गर्ने तयारी गरिएको छ । ग्राहकको मागअनुसार सयपत्रीका माला बनाएर उपलब्ध गराउनुका साथै अर्डरअनुसार तोकिएको स्थानसम्म फूल पुर्याउने व्यवस्था मिलाउन लागिएको कठायतले बताए ।
स्थानीयवासीले गाउँमै उत्पादित फूल प्रयोग गर्न र खरिद गरेर अभियानलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् । विशेषगरी तिहार तथा अन्य चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले स्थानीय उत्पादनले बजार पाउने उनीहरूको अपेक्षा छ ।
सडक किनारका खाली ठाउँलाई फूलबारीमा परिणत गरेर बेलासपुरवासीले वातावरण संरक्षण, गाउँको सौन्दर्यकरण र आर्थिक उपार्जनलाई एकैसाथ अघि बढाएका छन् । सामूहिक सहभागिता र स्थानीय सरकारको सहकार्यमा सुरु भएको यो अभियानले गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने सम्भावनासमेत देखाएको छ ।


