ब्रह्मज्ञान, प्रेम र मानव एकत्वको सन्देश दिँदै वीरेन्द्रनगरमा सत्सङ्ग

सुर्खेत (वीरेन्द्रनगर), ४ मंसिर । सन्त निरंकारी मण्डल दिल्लीस्थित प्रधान कार्यालयबाट प्रचार यात्रामा नेपाल आउनुभएका ज्ञान प्रचारक महात्माले काठमाडौं, पोखरा, स्याङ्जा, बुटवल र दाङ हुँदै आज वीरेन्द्रनगरमा आयोजित विशाल सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मज्ञान, आत्मजागृति, प्रेमाभक्ति र मानव एकत्वको महत्त्वबारे प्रवचन दिनुभएको छ ।



महात्माले अविनाशी निराकार परमात्मालाई मानव जीवनको वास्तविक आधार र आत्माको स्थायी मुकाम बताउँदै संसार, शरीर तथा भौतिक सम्पत्ति नाशवान् रहेको उल्लेख गर्नुभयो । मानिस संसारको मोह र क्षणभंगुर वस्तुमा अल्झिनुभन्दा परमात्माको ज्ञान प्राप्त गरी जीवनको वास्तविक उद्देश्य बुझ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले मनुष्यको सोच र दृष्टिकोण परिवर्तन भए जीवनप्रतिको अनुभूति पनि बदलिने बताउँदै संसार बदल्नुभन्दा आफ्नो सोच र जीवनको दिशा बदल्न आवश्यक रहेको सम्झाउनुभयो । सतगुरुको मार्गदर्शनबिना केवल धार्मिक क्रियाकलापमा संलग्न हुँदैमा आध्यात्मिक गन्तव्य प्राप्त नहुने भन्दै भक्तिमा सही दिशा र ज्ञान आवश्यक रहेको उहाँले बताउनुभयो ।

महात्माले सच्चा भक्तिको आधार प्रेम रहेको उल्लेख गर्दै परमात्माको पहिचानबिना भक्ति सुरु हुन नसक्ने बताउनुभयो । तीर्थ, व्रत, दान, पुण्य, योग, ध्यान तथा विभिन्न कर्मकाण्डमा अहंकार राखेर गरिने क्रियालाई हात्तीको स्नानसँग तुलना गर्दै आत्मज्ञानबिना गरिएका कर्मले वास्तविक आध्यात्मिक लाभ दिन नसक्ने उहाँले सम्झाउनुभयो । मानिससँग रहने वास्तविक धन ब्रह्मज्ञानबाट प्राप्त ‘नाम-धन’ मात्रै भएको उहाँको भनाइ थियो ।

गुरुको वास्तविक स्वरूप शरीर नभई ज्ञान भएको स्पष्ट पार्दै महात्माले ब्रह्मज्ञानलाई गुरुको शब्द बताउनुभयो । जसरी आँखामा सुरमा लगाउँदा दृष्टि स्पष्ट हुन्छ, त्यसरी नै सतगुरुको ज्ञानले अज्ञानताको अन्धकार हटाई जीवनमा आध्यात्मिक प्रकाश ल्याउने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले मानव जीवनलाई जागृतिको अवसरका रूपमा व्याख्या गर्दै सतगुरुको ज्ञानबाट मानिसले परमात्माको पहिचान, आत्मचिन्तन र जीवनको सार बुझ्न सक्ने बताउनुभयो । ब्रह्मज्ञान प्राप्त भएपछि मनका द्विविधा, भ्रम र भड्काव हट्दै धैर्य, स्थिरता र शान्तिको भाव विकसित हुने उहाँको भनाइ थियो ।

संसारमा बढ्दै गएको द्वेष, अहंकार, युद्ध र वैमनस्यताको समाधान परमात्माको ज्ञान तथा मानव एकत्वको भावमा रहेको उल्लेख गर्दै सबै मानिस एउटै परमात्माका सन्तान हुन् भन्ने बुझाइले जाति, धर्म, देश र भौतिक भिन्नताभन्दा माथि उठेर प्रेम, सद्भाव, सम्मान र भाइचारा कायम गर्न प्रेरणा दिने महात्माले बताउनुभयो ।

उहाँका अनुसार ब्रह्मज्ञानले मानिसलाई अज्ञानता र मोहबाट मुक्त गराउँदै आध्यात्मिकता तथा मानवताको मार्गमा अघि बढ्न प्रेरित गर्छ । सच्चा भक्ति भनेको परमात्मालाई चिन्नु, उहाँप्रति प्रेम राख्नु र सतगुरुको ज्ञानअनुसार जीवनलाई सार्थक बनाउनु हो ।
आजको सत्सङ्ग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, सुर्खेत जिल्लाका इन्चार्ज शबीर थापा, गुटु सत्सङ्ग भवनका मुखी ऋषिराम सापकोटा, फोटो पत्रकार दीपक रावल, सन्त निरंकारी आदर्श विद्या मन्दिर, टीकापुरका अध्यक्ष प्रकाश भण्डारी तथा सुर्खेत सत्सङ्ग भवनका मुखी लीलाराम पुरी लगायतका सन्तहरूले भजन तथा प्रवचनमार्फत आ–आफ्ना भाव व्यक्त गर्नुभएको थियो । त्यसैगरी, मङ्गलाचरण तेजबहादुर बोहराले गाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन नविना रेग्मीले गर्नुभएको थियो ।


You must be logged in to post a comment.