अवर्गीकृत

रोजगारीको खोजीमा भारत पस्दै सुदूरपश्चिमेली, शुक्रबार मात्रै १० हजारले छाडे देश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, १३ मंसिर । स्वदेशमै रोजगारीको अवसर नपाउँदा सुदूरपश्चिमका हजारौँ नागरिक रोजगारीको खोजीमा भारत जान बाध्य भएका छन् । कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा शुक्रबार भारत जाने नेपालीको ठूलो भिड देखिएको छ । रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै सीमा नाकामा लामो लाइन र यात्रुको चापसमेत बढेको छ ।

लोक कल्याणकारी विज्ञापन

निधारमा रातो टीका लगाएर घरपरिवारसँग बिदाइ हुँदै भारततर्फ लागेका नागरिकका अनुहारमा खुसीभन्दा बाध्यता र पीडा बढी देखिन्छ । साना बालबालिकालाई काखमा च्यापेर रोजगारीका लागि भारत जान लागेका नागरिकले सीमा नाकामा लामो लाइन, झन्झट र सास्तीसमेत भोग्नुपरेको छ । वर्षौँदेखि दोहोरिँदै आएको यो समस्या समाधान हुन नसक्दा नागरिकको पीडा उस्तै छ ।

स्वदेशमा रोजगारी नपाएपछि करिब छ महिनाअघि भारतबाट फर्किएका कैलालीको सुक्खडका राजकुमार वड पुनः रोजगारीका लागि भारत जान लागेका छन् । नेपालमै रोजगारीको अवसर नपाएपछि फेरि भारत फर्किनुपरेको उनको भनाइ छ । उनले नयाँ सरकारले नेपाली नागरिकलाई आफ्नै देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । भारतमा काम गर्न जाँदा नेपालीले विभिन्न किसिमका दुःख र अप्ठ्यारा भोग्नुपर्ने उनले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD

त्यस्तै, भारत जान लागेका कपिलकुमार काफ्ले पनि स्वदेशमै सानो–ठूलो रोजगारीको अवसर सिर्जना गर्न सरकारसँग आग्रह गर्छन् । आफ्नै देशमा सामान्य रोजगारी पाएको भए परदेशिनुपर्ने अवस्था नआउने उनको भनाइ छ । भारत जाने नेपालीको सङ्ख्या दिनहुँ बढ्दै जानुले देशभित्रको बेरोजगारी समस्या उजागर गरेको उनले बताए ।

पूर्वसैनिकसमेत रहेका पूर्णानन्द भट्ट सेक्युरिटी गार्डको कामका लागि भारत जाँदै छन् । सीमा नाकामा वृद्धवृद्धा, बिरामी र बालबालिकाले समेत सास्ती खेप्नुपरेको भन्दै उनले आवतजावत सहज बनाइदिन सरकारसँग आग्रह गरे । वर्षौँदेखि भारत आउजाउ गर्दा सीमा नाकामा उस्तै समस्या भोग्नुपरेको उनको गुनासो छ ।

अछामको मुर्कुबाट भारतको सुरत जान लागेकी मेगा बोगटीको पीडा पनि उस्तै छ । स्वदेशमा रोजगारी नपाएकै कारण भारत जान बाध्य भएको बताउँदै उनले गरिब नागरिकले आफ्नै देशमा रोजगारी पाए भारत जानुपर्ने अवस्था अन्त्य हुने बताइन् ।

सशस्त्र सीमा सुरक्षा बल त्रिनगरको तथ्याङ्कअनुसार शुक्रबार मात्रै करिब १० हजार नेपाली रोजगारीका लागि भारततर्फ गएको सशस्त्र प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिएका छन् । एकै दिन ठूलो सङ्ख्यामा नेपाली भारत जानुले सुदूरपश्चिममा रोजगारीको अभाव र वैदेशिक श्रममा निर्भरता कायमै रहेको देखाउँछ ।

आफ्नै देशमा रोजगारी नपाउँदा परिवार र बालबालिकालाई छाडेर परदेशिनुपर्ने बाध्यता सुदूरपश्चिमका नागरिकका लागि नौलो होइन । सरकार परिवर्तन भए पनि रोजगारीका लागि भारत जानुपर्ने अवस्था भने हट्न सकेको छैन । सीमा नाकामा हुने सास्ती कम गर्नेदेखि भारतमा काम गर्ने नेपालीको श्रम सुरक्षा र सम्मान सुनिश्चित गर्नेसम्मका विषय चुनौतीका रूपमा रहेका छन् ।

नागरिकले आफ्नै देशमा श्रम गरेर सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । तर, सुदूरपश्चिमका हजारौँ नागरिकका लागि स्वदेशमै रोजगारी पाउने सपना अझै अधुरै छ ।

–कशिश शाह र सुदीप थापाको रिपोर्टमा आधारित ।

बिज्ञापन