नेपालगञ्जमा प्रेम, सद्भाव र आत्मिक जागृतिको सन्देश

नेपालगञ्ज, , ५ मंसिर । सन्त निरंकारी मण्डल, दिल्ली मुख्यालयबाट नेपाल आध्यात्मिक भ्रमणमा आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहराले सत्सङ्गमा जीवनको वास्तविक उद्देश्य, सतगुरुको महत्त्व, मानव व्यवहारमा प्रेम तथा सद्गुणको भूमिका र आत्मिक जागृतिका विषयमा प्रकाश पार्नुभयो । कार्यक्रममा नेपालगञ्ज तथा आसपासका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए ।


सत्सङ्गलाई ज्ञानको सरोवरका रूपमा व्याख्या गर्दै उहाँले यहाँ आउने प्रत्येक व्यक्तिले हंस बनेर गुण, ज्ञान र सद्गुणका मोती ग्रहण गर्नुपर्ने बताउनुभयो । हंसले सरोवरमा डुबुल्की लगाएर मोती खोजेजस्तै मानवले पनि सत्सङ्गबाट प्रेम, नम्रता, विवेक, सहनशीलता र सकारात्मक सोचजस्ता गुणहरू ग्रहण गर्नुपर्ने उहाँको भनाइ थियो । सत्सङ्गमा अरूका कमजोरी खोज्नेभन्दा आफ्ना जीवनमा सुधार ल्याउने प्रेरणा प्राप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मानिसको आन्तरिक भावनाले उसको व्यवहार र वाणीलाई प्रभावित गर्ने उल्लेख गर्दै उहाँले मनमा प्रेम, सद्भाव र करुणा भए अरूलाई पनि त्यही भाव प्रदान गर्न सकिने बताउनुभयो । मनमा अहंकार, ईर्ष्या, द्वेष र नकारात्मकता भए त्यसको प्रभाव व्यवहारमा देखिने भएकाले जीवनलाई सकारात्मक विचारले भरिपूर्ण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सच्चा भक्तले आफ्नो व्यवहारबाट अरूलाई शान्ति, हौसला र प्रेम प्रदान गर्ने गर्छ भने अहंकारले मानिसलाई विभाजन र अशान्तितर्फ लैजाने उहाँको भनाइ थियो ।

प्रह्लाद, मीरा, हनुमान र कबीरजस्ता भक्तहरूको उदाहरण प्रस्तुत गर्दै उहाँले सच्चा भक्ति, दृढ विश्वास र प्रेमले मानिसलाई कठिन परिस्थितिमा पनि सही मार्गमा अघि बढ्न प्रेरणा दिने बताउनुभयो । बालबालिकालाई सानैदेखि प्रेम, सेवा, सद्भाव, त्याग र आध्यात्मिक संस्कार सिकाउनुपर्ने उल्लेख गर्दै उहाँले उनीहरूलाई असल संस्कारयुक्त, जिम्मेवार र मानवताप्रति समर्पित नागरिकका रूपमा विकास गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै उहाँले संसारका विभिन्न महापुरुष तथा सन्तहरूले मानवलाई प्रेम, एकता र परमात्मासँग जोडिने मार्ग देखाएको बताउनुभयो । राम, मोहम्मद, येशू, गुरु नानकजस्ता महापुरुषहरूले मानव समाजलाई प्रेम, करुणा र सद्भावको सन्देश दिएको चर्चा गर्दै सबै मानिस एउटै निराकार परमात्माका सन्तान भएकाले जात, धर्म, भाषा, क्षेत्र र भौतिक भिन्नताभन्दा माथि उठेर एकअर्कालाई मानवका रूपमा स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो ।
सतगुरुको महत्त्वमाथि प्रकाश पार्दै उहाँले आध्यात्मिक ज्ञान केवल बाहिरी प्रतीक, तस्वीर वा प्रदर्शनमा सीमित नभई हृदयमा स्थापित हुनुपर्ने बताउनुभयो । सतगुरुको शिक्षा जीवनमा आत्मसात् गर्दै उहाँको मार्गदर्शनअनुसार व्यवहार परिवर्तन गर्नु नै सच्चा भक्तिको आधार भएको उहाँको भनाइ थियो । वर्तमान सतगुरु माता सुदीक्षा जी महाराजले प्रदान गर्नुभएको ब्रह्मज्ञानबाट निराकार परमात्माको बोध गरी जीवनलाई प्रेम, सेवा, समर्पण र सकारात्मक भावनाले अघि बढाउनुपर्ने सन्देश उहाँले दिनुभयो ।

मानिसले अरूका दोष र कमजोरी खोज्नुभन्दा आफ्नै मन तथा व्यवहारको समीक्षा गर्नुपर्ने बताउँदै उहाँले निन्दा, आलोचना, ईर्ष्या र द्वेषले मानव सम्बन्ध कमजोर बनाउने उल्लेख गर्नुभयो । अरूका गुणहरू देख्ने, सबैप्रति सम्मानभाव राख्ने र प्रेमलाई व्यवहारमा उतार्ने व्यक्तिले मात्र वास्तविक आध्यात्मिकता अनुभव गर्न सक्ने उहाँले बताउनुभयो । गुरुको शिक्षालाई जीवनमा अपनाउँदा मनमा शान्ति, व्यवहारमा नम्रता र समाजमा सद्भाव स्थापित हुने उहाँको भनाइ थियो ।

सत्सङ्गको मुख्य उद्देश्य मानव जीवनमा आध्यात्मिक जागृति ल्याउनु, निराकार परमात्मासँगको सम्बन्धलाई दृढ बनाउनु तथा समाजमा प्रेम, एकता र मानवताको भावना विस्तार गर्नु रहेको उहाँले बताउनुभयो । आएका सन्तभक्तहरुको लागि लंगर (भोजन) को पनि व्यवस्था गरिएको थियो ।
नेपालको आध्यात्मिक भ्रमणका क्रममा ज्ञान प्रचारक महात्मा बिनोद वोहराले भोली बर्दियाको तारतालमा सत्सङ्ग कार्यक्रम गर्नुहुनेछ । त्यसपछि कैलालीको टीकापुरस्थित सन्त निरंकारी सत्सङ्ग भवनमा विशेष सत्सङ्ग कार्यक्रम आयोजना हुने भएकाले आध्यात्मिक प्रेमी तथा श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई सत्सङ्गको लाभ लिन आग्रह गरिएको छ ।

कार्यक्रममा उद्घोषक पंकजजीको सञ्चालनमा विभिन्न वक्ता तथा सहभागीहरूले आफ्ना प्रस्तुतिहरू राख्नुभएको थियो। जसअन्तर्गत बबिता जीले हरदेव वाणी वाचन गर्नुभयो भने वन्दना जी र दुर्गा जीले आ-आफ्ना विचार राख्नुभयो। त्यसैगरी भगवती जी र साथी तथा सौम्या जीले भजन प्रस्तुत गर्नुभयो। निशा जीले विचार र सन्दीप जीले तनिश जीसँगै भजन प्रस्तुत गर्नुभयो भने राहुल जीले विचार राख्नुभयो। सपना जी र साथीहरूले भजन गाउनुभयो ।
कविता विधातर्फ सुरेन्द्र जी, प्रेरणा जी र सिमरन जीले आ-आफ्ना कविता वाचन गर्नुभयो। बहराइचबाट आउनुभएका अजय जीले भजन प्रस्तुत गर्नुभयो भने देवराज रिमाल (केन्द्रीय सदस्य) जीले विचार राख्नुभयो। राम सुन्दर जीले भजन गाउनुभयो र दिल्लीबाट आउनु भएकी रानी वोहरा जीले विचार व्यक्त गर्नुभयो। रुपा जीले भजन, मुखी जीले विचार तथा शालु जी र साथीले भजन प्रस्तुत गर्नुभयो।


You must be logged in to post a comment.