खेलकुद

बर्दगोरियामा प्रदेशव्यापी यू–१६ फुटबल प्रतियोगिता सुरु, ३२ विद्यालय सहभागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दगोरिया, ५ मंसिर । कैलालीको बर्दगोरिया गाउँपालिका–४ कोटागढीमा सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र यू–१६ फुटबल प्रतियोगिता–२०८३ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको हो ।

लोक कल्याणकारी विज्ञापन

बर्दगोरिया स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका ३२ विद्यालयका फुटबल टोली सहभागी छन् । विद्यालयस्तरबाट फुटबलको विकास, प्रतिभावान् खेलाडीको पहिचान र विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावत, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रतियोगिताअन्तर्गत उद्घाटन दिन भएका खेलमा बालबाटिका विद्यामन्दिरले सर्वोदय माध्यमिक विद्यालयलाई ३–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा कलम बम मेमोरियल पहलमानपुरले बालकन्या माध्यमिक विद्यालय कट्टीपुरलाई ५–१ गोलले हराएको छ ।

प्रतियोगिताको विजेताले एक लाख २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १५ हजार र सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट रक्षक, मिडफिल्डर, गोलकिपर तथा उदयीमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । अनुशासित खेल प्रदर्शन गर्ने टोलीलाई फेयर प्ले अवार्डसहित पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बिज्ञापन