खेलकुद

महालक्ष्मीमा १६ विद्यालयका शिक्षकबीच मैत्रीपूर्ण भलिबल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुर, १८ असोज । महालक्ष्मी नगरपालिकामा १६ विद्यालयका शिक्षक टोलीबीच अन्तरविद्यालय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिका–८ स्थित वेस्ट विङ माध्यमिक विद्यालय/कलेजको आयोजनामा शनिबार भएको प्रतियोगिता प्रतिस्पर्धाभन्दा शिक्षकबीच आपसी सद्भाव, मित्रता र सहकार्य बढाउने उद्देश्यले आयोजना गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

प्रतियोगितामा नगरपालिकाभित्रका १६ विद्यालयका शिक्षक टोली सहभागी थिए। विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक मैदानमा सहभागी भए। केही प्रधानाध्यापक स्वयं खेलाडीका रूपमा मैदानमा उत्रिएका थिए।

लोक कल्याणकारी विज्ञापन

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले एक–एक खेल मात्र खेलेका कारण विजेता र उपविजेता घोषणा गरिएन। सहभागी सबै विद्यालयका शिक्षक टोलीलाई समान रूपमा ‘टोकन अफ लभ’ तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले विद्यार्थीस्तरमा हुँदै आएको भलिबल प्रतियोगितालाई नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै शिक्षकहरूबीचको प्रतियोगिता सकारात्मक पहल भएको बताए। आगामी दिनमा अभिभावकहरूबीच समेत भलिबल प्रतियोगिता आयोजना गर्न नगरपालिकाले सहयोग गर्ने उनले बताए।

‘भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको विकास, विस्तार र प्रवर्द्धनमा नगरपालिकाले निरन्तर प्रोत्साहन गर्नेछ,’ श्रेष्ठले भने। विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई समेटेर खेलकुद गतिविधिलाई थप व्यापक बनाउनुपर्नेमा उनले जोड दिए।

महालक्ष्मी–८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले वेस्ट विङ माध्यमिक विद्यालयले नयाँ र सिर्जनात्मक गतिविधिको नेतृत्व गर्दै आएको भन्दै आफ्नै वडाको विद्यालयले नगरस्तरीय कार्यक्रम आयोजना गर्नु गौरवको विषय भएको बताए। शिक्षा र खेलकुद दुवै क्षेत्रमा विद्यालयको सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो।

महालक्ष्मी नगरपालिका शिक्षा शाखा प्रमुख/निर्देशक चिरञ्जीवी पौडेलले शिक्षकहरूलाई कक्षाकोठाबाट बाहिर ल्याएर आपसी सम्बन्ध र सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रतियोगितामा महिला शिक्षकहरूको समेत उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै उनले आगामी दिनमा महिला शिक्षकका लागि ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने योजना सुनाए।

‘शिक्षकबीचको सम्बन्ध बलियो बनाउनुका साथै यस्ता गतिविधिले विद्यालयको शैक्षिक वातावरणलाई समेत सकारात्मक बनाउँछ,’ पौडेलले भने। महालक्ष्मी नगरपालिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका माध्यमबाट अघि बढिरहेको र शैक्षिक हबका रूपमा विकास हुँदै गएको उनले बताए।

कार्यक्रममा वेस्ट विङका विद्यार्थीहरूले प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ तथा विशिष्ट अतिथिलाई स्कर्टिङ गर्दै कार्यक्रमस्थलमा स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन पनि विद्यालयका शिक्षकहरूले गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा वेस्ट विङ माध्यमिक विद्यालय/कलेजका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण भक्त श्रेष्ठले सहभागी सबै १६ विद्यालयलाई धन्यवाद दिँदै विद्यालय, नगरपालिका, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारमाध्यम र समुदायबीचको सहकार्यले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने बताए।

कार्यक्रममा वेस्ट विङका संस्थापक विद्यालय व्यवस्थापन समिति तथा गुठी (ट्रस्ट) अध्यक्ष वसन्त कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य तथा महालक्ष्मी नगरपालिका शिक्षा अधिकृत कमला खनाल, शिक्षा समिति सदस्य तथा सिद्धिमंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर आछामी र शिक्षा समिति सदस्य तथा महालक्ष्मी माध्यमिक विद्यालयकी प्रधानाध्यापक प्रमिला श्रेष्ठलगायतको उपस्थिति थियो।

आयोजक विद्यालयका प्रधानाध्यापक बाबुराज महर्जनले प्रतियोगिता खेल जित्नेभन्दा शिक्षकबीच मित्रता, सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताए। उनका अनुसार खेलकुदमार्फत विद्यालयका शिक्षक तथा प्रधानाध्यापकबीच परिचय र सम्बन्ध विस्तारसँगै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह भएको छ।

प्रतियोगिताले शिक्षकहरूको शारीरिक तन्दुरुस्ती, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धासँगै विद्यालयहरूबीच सहकार्यको वातावरण निर्माणमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD