आस्था /आध्यात्म

शरीरमा शक्ति बढाउने पर्व मकर संक्रान्ति

बिज्ञापन

काठमाडौं, माघ १ गते । माघ महिनाको पहिलो दिन आज ‘घिउचाकु सँल्हु’, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक मुख्य पर्व हो । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भन्ने चलन छ ।

आजको दिन विशेष रुपमा घिउ, चाकु र तीलको लड्डुखाएर मनाइने यो चाड अब सबै नेपालीको साझा बन्न थालेको छ । संस्कृतिविद्हरुका अनुसार माघे संक्रान्ति मनाउनुको केही वैज्ञानिक कारण छन् । उहाँहरुका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

संस्कृतिविद् हरिराम जोशीकाअनुसार माघे संक्रान्तिमा घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति पनि प्राप्त हुन्छ । जोशी भन्नुहुन्छ, “माघे संक्रान्तिमा नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाँदा शरीर पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।” 

माघ महिनामा चाकु खाने चलन हाम्रो परम्परा सँगसँगै शरीरको शक्तिसँग पनि जोडिएको जोशीको भनाइ छ । 

बिज्ञापन

‘‘पहिला पर्याप्त मात्रामा लुगाकपडा लगाउने अवस्था थिएन, एक जोर लुगा अर्को ठूलो पर्व नआएसम्म प्रयोग गर्नुप¥थ्यो र धोएर सुकेपछि त्यही लुगा लगाउने चलन थिया’’, जोशी भन्नुहुन्छ, “यस्तो अवस्थामा घिउ, चाकु खाएर शरीर तताउने र चिसो छल्न सजिलो हुन्छ भन्ने विश्वास थियो ।” 

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा मन र शरीर शुद्ध गरी घिउ, चाकु र तिलको लड्डु तथा तरुल खानाले शरीरमा गर्मीका मात्रा बढ्ने र तागत दिने मान्यता छ । 

यसबाहेक माघीको दिन विशेषगरी नेवाः समुदायमा आफूभन्दा ठूलाले टाउको र पैतालामा तेल लगाएर आर्शिवाद लिने चलन छ । यसरी घाममा बसेर शरीरमा तेल लगाउँदा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । 

नेवाः समुदायमा आजको दिन बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाउने परम्परा छ । जोशी भन्नुहुन्छ, “नेवाः समुदायमा माघे सङ्क्रान्ति मनाउँदा बिहे भइसकेका छोरीको सन्तान नभएसम्म श्रीमान्को घरमा घिउ, चाकु खान नहुने चलन छ । त्यसैले छोरीहरु माइतमै आएर घिउ, चाकु खाएर माघे सङ्क्रान्ति मनाउँछन् ।”

बिज्ञापन
बिज्ञापन