राजनीति

टीकापुर घटनाको नागरिक उन्मुक्तिले भदौ ७ लाई स्मरण गर्ने

बिज्ञापन

कैलाली । टीकापुर घटनाको नागरिक उन्मुक्तिले भदौ ७ लाई स्मरण गर्ने भएको छ । उक्त दिनमा पार्टीले २०७२ भदौ ७ गते भएको आन्दोलनमा ज्यान गुमाएका २ वर्षका बालक सहित ९ जनलाई सहिद घोषणाको माग गरिने कुरा हिजो टीकापुरमा आयोजित कार्यक्रममा घोषणा गरेको छ ।
संविधान निर्माण चलिरहेका बेला थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किएको थियो । सोही आन्दोलन हिंसात्मक हुँदा ७ गते तत्कालीन एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जनाको हत्या भएको थियो ।

बिज्ञापन

राजनैतिक आन्दोलनका क्रममा भएको घटना ज्यान गुमाएको भन्दै उनीहरू सबैलाई सहिद घोषणा गर्ने कार्यक्रम रहेको नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य तथा स्मरण दिवस कार्यक्रमका संयोजक ललित ताम्रकारले जानकारी दिए ।
टीकापुर घटनाको ७ वर्षपछि सामाजिक सद्भाव फर्काउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । उक्त कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी लगायतका केन्द्रीय पदाधिकारी तथा विभागका प्रमुखहरूको उपस्थिति हुने उनले जानकारी दिए । यसै बिच नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ लगायतले आज जिल्ला कारागारमा रहेको कैदी बन्दिहरुलाई भेटेका छन् ।


टिकापुर घटनाका दोषी ठहर गर्दै कैदी बन्दीहरूलाई भेट्दै अध्यक्ष श्रेष्ठ चौधरीले आफूहरू न्यायको लडाइमा रहेको बताएकी थिइन् । सरकारलाई सत्य तथ्य पत्ता लगाउन समेत माग गरेको उनले बताइन् ।

नागरिक उन्मुक्तिले स्मरण दिवसका मनाउने तयारी गरिरहेका बेला उता थरुहट थारुवान राष्ट्रिय मोर्चाले भने विद्रोह दिवसको रूपमा भोलि कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

स्मरण रहोस कि संविधान निर्माण चलिरहेका बेला सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए ।

आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने र रोक्ने बिच तनाव चुलियो । त्यसपछि २०७२ साल भदौ ७ गते आन्दोलन हिंसामा परिणत भयो ।

सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरू टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो ।

तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए ।

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठ जना र एक जना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । घटनाको भोलि पल्ट कर्फ्यु लागेकै बेला थारु समुदायका घरहरू खोजी खोजी आगो लगाइएको थियो । सोही दिन रेशम चौधरीले सञ्चालन गर्दे आएको फूलबारी एफ.एममा पनि आक्रमण भयो ।

बिज्ञापन