Sudur Pradesh News

हुलाकी सडक निर्माण काममा ढिलासुस्ती

बिज्ञापन

महेन्द्रनगर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।

बिज्ञापन

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले उक्त कामलाई प्राथमिकतामा नराख्न निर्माणमा ढिलासुस्ती भएको बताए ।

‘पहिलो कोरोना कहर, निकुञ्ज क्षेत्रमा स्वीकृति लगायतका कारणले ढिलाइ भयो,’ उनले भने, ‘पाँचौँ पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन ।’

हुलाकी सडकको ६२ किलोमिटर सडक तीन वटा प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो ।

डोके बजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किलोमिटरमा ९० प्रतिशत काम सम्पन्न भए पनि अन्य दुई प्याकेजमा काम उस्तै छ ।

पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा– राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो ।

‘पहिलो प्याकेजको निर्माण अवधि सकिएसँगै काम पनि अन्तिम अन्तिमतिर छ ।’ इन्जिनियर सुनारले भने, ‘तेस्रो प्याकेजमा काम भइरहे पनि दोस्रोमा स्थगन जस्तै छ ।’

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजको लागत रु ४१ करोड ४१ लाख छ ।

उक्त प्याकेजमा हालसम्म साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ ।

सोही प्याकेजको चुइँ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न असहमति जनाउँदै आएको छ ।

दोस्रो प्याकेज निर्माणको जिम्मा पाएको बाबा हंस–सिद्धीसाई जेभीले पाँच पटक म्याद थप भइसक्दा मुस्किलले ५० प्रतिशत काम सकेको छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमा ६ वर्षको अवधिमा साढे आठ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए ।

‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय आगामी असार मसान्तसम्म तोकिएको छ ।’ इन्जिनियर सुनारले भने, ‘६ वर्षको अवधिमा जम्मा ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भयो ।’

निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो ।

निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिँदै आएका छन् ।

बिज्ञापन