राजनीति

न्यूनतम साझा कार्यक्रम केवल कागजी घोडा : राप्रपा प्रवक्ता श्रेष्ठ

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले बिहीबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई कागजी घोडाको संज्ञा दिएका छन् ।

बिज्ञापन

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले अघिल्लो गठबन्धनका सकारात्मक विषयलाई पूर्वाग्राही ढंगबाट उपेक्षा गरेको बताए ।

‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागबन्डा कार्यक्रमको रूपमा मात्रै सीमित रहने क्वाँटी दस्तावेज हो’, श्रेष्ठले भनेका छन् ।

देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न नसकेको उनको टिप्पणी छ ।

‘देशलाई खोक्रो बनाउने भ्रष्टाचार जस्तो जघन्य विषयलाई राप्रपासमेत सहभागी अघिल्लो गठबन्धनले जुन कडाइ र प्राथमिकता दिएको थियो, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाएर कानूनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिइएको थियो, यसपटक यति गम्भीर विषयलाई “कदम चाल्ने” मात्रै भनेर सामान्यीकरण गरिएको छ’, श्रेष्ठले लेखेका छन् ।

साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा उनको आशंका छ ।

बिज्ञापन