राष्ट्रिय समाचार

चैतसम्म काम सुरु नभएका परियोजना रोक्न अर्थ मन्त्रालयकाे सर्कुलर

बिज्ञापन

काठमाडौं । अर्थ मन्त्रालयले चैत मसान्तसम्म काम सुरु नभएका २० अर्ब रुपैयाँका परियिोजना रोक्न निर्देशन दिएको छ ।
संघीय सरकारको केन्द्रीय सञ्चित कोष निरन्तर घाटामा गएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले हालसम्म काम सुरु नभएका आयोजना अगाडि नबढाउन विभिन्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

बिज्ञापन

मन्त्री महतको निर्णयपछि विभिन्न मन्त्रालयलाई परियोजनाको नामै तोकेर चालू आर्थिक वर्षमा ती आयोजना कार्यान्वयन नगर्न पत्राचार गरिएको बजेट तथा कार्याक्रम महाशाखाका एक उपसचिवले बताए ।

ती उपसचिवका अनुसार रातो किताबमा उल्लेख भएका तर अहिलेसम्म कार्यान्वयन सुरु नभएका कार्यक्रम यो वर्ष कार्यान्वयन नगर्न मन्त्रालयले भनेको हो ।

यसअघि सरकारले हालसम्म कार्यान्वयन नभएका परियोजना रोक्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको थियो ।
तर यसपटक भने मन्त्रालयले रातो किताबमा भएका योजना नामै तोकेर कार्यान्वयन नगर्न पत्र लेखेको हो ।

यसअघि तत्कालीन अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले २० प्रतिशत चालू खर्च घटाउने, गोष्ठी सेमिनार नगर्ने, अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेका थिए । तर, अर्थ मन्त्रालयले निर्णय कडाइको साथ कार्यान्वयन गर्न सकेको छैन ।

फागुन मसान्तमा १ अर्ब ४८ करोड रुपैयाँले घाटामा रहेको केन्द्रीय सञ्चित कोष चैत मसान्तमा १ खर्ब ८६ अर्ब रुपैयाँले घाटामा छ । जसले गर्दा खर्च कटौती गर्नु पर्ने दबावमा सरकार छ ।

चालू आर्थिक वर्षको ९ महिनामा मात्रै केन्द्रीय सञ्चित कोष १ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा गएको छ । गत आर्थिक वर्षको अन्त्यमा सञ्चित कोष ५४ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

चालू आर्थिक वर्षको ९ महिनामा विभिन्न स्रोतबाट ८ खर्ब ९ अर्ब रुपैयाँ आर्जन गरेको सरकारले सोही अवधिमा ९ खर्ब ४३ अर्ब रुपैयाँ खर्च गरेको छ । जसका कारण संघीय सरकारको केन्द्रीय सञ्चित कोष घाटामा छ ।

बिज्ञापन