आस्था /आध्यात्म

सत्संग आत्मिक सुधार केन्द्र हो– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

बिज्ञापन

बाँके, ३० जेठ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सत्संग आत्मिक सुधार केन्द्र भएको बताउनु भएको छ ।

बिज्ञापन

गत जेठ २६ गते बाँसगढीको उत्तर भकारीमा आयोजित विशाल सत्संग समारोहलाई सम्बोधन गर्दै अध्यक्षले उक्त कुरा बताउनु भएको हो । उहाँले जुन प्रकारले विसंगती र विकृतिमा लागेका बालबालिकाहरुलाई सुधार्नको लागि आमा–बुवाले सुधार केन्द्रमा हालेर उनीहरुलाई सुधार्ने प्रयास गर्दछन्, त्यस्तै प्रकार सत्संग भनेको पनि नेक कार्यमा आत्मालाई अग्रसर गराउने एउटा आत्मिक सुधार केन्द्र जस्तै हो । सत्संगमा आएर हामी आफ्ना गलत व्यवहारलाई सुधार्न सक्छौ । परमात्मा–निराकारको यशो गान गरेर आफूलाई आध्यात्मिक बाटोमा डो¥याउन सक्छौ, सन्तहरुको आचरणलाई अनुकरण गरेर एउटा नेक मानव बन्नेतिर अग्रसर हुन सक्छौ । आज हामीलाई सत्गुरुले हाम्रो जतिपनि अवगुणहरुलाई माफ गरेर सत्संग रुपी माताको गोदमा बसाउने कृपा गर्नु भएको छ । सन्तहरुले भनेका पनि छन् कि सत्संग हाम्रो आमा हो भने बुवा भनेको परमात्मा हो, जसले श्रृष्टिलाई चलाई रहेको छ । यो नै संसारको रचियता हो । यसैले सबैको पालन–पोषण गर्दछ, उहाँले बताउनु भयो ।

उहाँले बाबा बूटा सिंह जीको उदाहरण दिदै भन्नुभयो कि जहिले पनि बाबा बूटा सिंह जी अरुलाई तिमी कहाँबाट आएका हौं ? कहाँ तिम्रो घर हो भनेर सोध्ने गर्नु हुन्थ्यो । यस्तो सोधेको देखेर कोहि मान्छेहरु यिनले किन यस्तो सोधेका होलान भनेर प्रश्न पनि गर्थे । तर, उनको भावलाई जसले बुझ्यो, त्यो त्यसै समय महान ब्रम्हज्ञानी बनेर आफू सुखी भयो र अरुको जीवनलाई पनि सुखमय बनाउन प्रयत्नशिल रह्यो । बाबा बूटा सिंह जीले बाटोमा हिडी रहेको व्यक्तिलाई सम्झाएर उसलाई ब्रम्हज्ञान दिएर उसको जीवनको कल्याण गरे, उहाँले बताउनु भयो ।

आज संसारमा ठुला–ठुला धनिहरुसंग प्रशस्त सम्पत्ति भएर पनि उनीहरु खुशी छैनन्, रातदिन सम्पत्ति जोड्नुमा नै आफ्नो सम्पूर्ण जीवन खर्चि रहेका छन् तैपनि उनीहरु सन्टुष्ट छैनन्, अझै अरु धन–सम्पत्ति जोड्न सके अरु सुखी हुन सकिन्थ्यो भनेर सम्पत्तिको पछाडि दौडि रहेका छन् र अन्तमा त्यो सम्पत्ति त्यही छुट्छ र यस संसारबाट विदा हुनु पर्दछ । तर, एउटा साधारण काम गर्ने सन्तलाई यदि हामी सोध्छौ कि कस्तो चलिरहेको छ, महापुरुष भनेर सोध्दा, उनले खुशी हुँदै भन्छन् कि दातारको कृपाले सबै कुरा ठीकठाक नै चलिरहेको छ, घर–परिवार सबै राम्रै छन्, कुनै दुःखको आभास छैन भनेर उनीहरुको मुखबाट सकारात्मक जवाफ आउने गर्दछ, ईश्वरलाई जहिले पनि धन्यवाद नै दिएको शब्द निस्किने गर्दछ तर यता जो धन–सम्पत्तिको मोह–मायाको पछाडि दौडि रहेको हुन्छ त्यसले कहिल्यैपनि आफू सन्तुष्ट नरहेको र भगवानलाई कुनै न कुनै कुरामा दोष दिरहेको पाईन्छ । यही फरक छ सन्त र माया–मोहमा फसेका व्यक्तिहरु बीच । यसरी जसले सत्संग रुपी मातालाई प्राप्त गरेको छ त्यसले बुवा रुपी परमात्मालाई जानेर सुखमय जीवन बिताउने गर्दछ । उसलाई आफ्नो वास्तविक घरको ठेगाना थाह हुन्छ, जसको कारण उसलाई यताउता भौतारिनुको कुनै आवश्यकता पर्दैन । आज सत्गुरुले संसारका मानवलाई ब्रम्हज्ञान प्रदान गरेर सत्संग रुपी मातासंग जोडेर विश्व भाइचारको सन्देशलाई फैलाउँदै एकताको आवाजलाई बुलन्द पारिराख्नु भएको छ, उहाँले प्रष्ट पार्नुभयो ।

एउटा साबुन बेच्ने व्यापारीको उदाहरण दिदै उहाँले भन्नुभयो कि कुनै साबुन बेच्ने व्यापारी एक दिन आफ्नो साबुन बेचिरहेको हुन्छ, उसले आफ्नो साबुनको राम्रो प्रचार गरेर घर–घरमा गएर साबुनको राम्रो गुणको बारेमा सम्झाउँ छ तर त्यति राम्रो गुणभएको साबुन हुँदा–हुँदै पनि त्यसको साबुनलाई कसैले किन्दैनन् । अन्तमा ऊ दुःखीत भएर आफ्नो घर फिर्ता भइरहेको हुन्छ र बाटोमा एउटा सन्तसंग भेट हुन्छ । सन्तले उसलाई सोध्छन् कि तिमी किन उदास छौ ? त्यसले आफ्नो साबुन राम्रो भएर पनि कसैले नकिनी दिएकोमा म साह्ै दुःखी छु भनेर जवाफ दिन्छ । त्यस ब्यापारीको कुरा सुनेर ती सन्तले उसलाई सम्झाउँदै भन्छन् कि तिमीबाट साबुन अरुले कसरी किनुन त, जब कि तिमीले लगाएको लुगा नै धेरै महिलो (फोहोर) छ । तिमी आफै फोहरी छौ, यदि तिमीले यो साबुनको प्रयोग गरेर यी लुगाहरु सफा गरेको भए सबैले तिम्रो साबुन माथि विश्वास गर्ने थिए र साबुन किन्ने थिए । त्यस्तै प्रकार हामीमा लोभ, लालच, अहंकार भरिएको छ, हाम्रो भावना दूषित छ, कर्म ठिक छैन, छरछिमेकले हाम्रो आनिबानी राम्रोसंग थाह छ भने उनीहरुलाई सत्संगमा आउन भन्छौ भने उनीहरुले कसरी विश्वास गर्छन् हाम्रो कर्ममाथि । त्यसैले सबैभन्दा पहिले हामीले हाम्रो व्यवहारलाई सुधार्नुको आवश्यक छ, हाम्रो व्यवहार नेक छ भने हामी अरुलाई पनि नेक कार्यसंंग जोड्न सक्छौ, उहाँले बताउनु भयो ।

त्यस्तै प्रकार सन्त निरंकारी सत्संग भवन नेपालगन्जका मुखी शिव प्रसाद गोडियाले निराकार संसारमा सर्वत्र छ, यो नभएको कुनै ठाउँ छैन । निराकारको अपार कृपाबाट नै हाम्रो मानव योनिको जन्म भएको हो । संसारमा रहेका सबै मानव प्राणीहरुलाई एउटै परमात्माका सन्तान सम्झेर सबैसंग प्रेम गर्नु पर्दछ । सबैलाई निराकारको अंश सम्झेर उनीहरुको सेवा–सत्कार गर्नु पर्दछ तब मात्र हामी सच्चा मानव कहलाउन सक्छौ । सत्गुरुको प्रत्येक वचनलाई शिरोधार्य गरेर त्यसलाई जीवनमा ढाल्नु पर्दछ, त्यस मुताविक जीवनलाई अगाडि बढाउनु पर्छ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा भूरीगाउँ सत्संग इंचार्ज विशाखर जैशी, बारबर्दिया मनिकापुरका सत्संग इंचार्ज रमेश बि.क., बानियाभारका सत्संग इंचार्ज धन बहादुर थापा, बाँसगढीकी प्रस्तावित सत्संग इंचार्ज तारा शर्मा, तारातालबाट मोहन थापा, शिक्षक भवन सिंह, गायक तेज बोहरा, निशा, सन्त निरंकारी नेपाली मासिक पत्रिका सम्पादक पूर्ण कुमाल लगायत सन्त–भक्तहरुले गीत वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संगको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नुभएको थियो ।

बिज्ञापन