राष्ट्रिय समाचार

नर्भिकमा दोहोरिएको दुःखद वियोग- छोरो गुमाएकै ठाउँमा आमाको देहत्याग

बिज्ञापन

काठमाडौं । सीता दाहालको वीरता, साहस अनि समर्पणका कथा र किस्साहरू विभिन्न किताबमा लिपिबद्ध भइसकेका छन् । माध्यमिक विद्यालयका शिक्षक प्रचण्डलाई देशको प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ र हात दिने अथक पथिक थिइन् भन्ने कुरा पनि दस्तावेजीकरण भइसकेका छन् ।

बिज्ञापन

अब प्रचण्डलाई सीताको भौतिक साथ रहने छैन । जेठी छोरी र छोरो गुमाएको चोट बोकेर हिँडिरहेका प्रचण्डले अन्ततः पत्नी शोकको बज्रपात पनि झेल्नुपरेको छ । युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा उनले जन्मदिने बुबासहित परिवारका चार सदस्य गुमाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा संवत् २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा भयो । अस्पतालले भने अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास बाँकी थियो ।

दुःखद संयोग नै भन्नुपर्छ प्रचण्डको जीवनका दुई अभिन्न अंगको अन्त्य नर्भिक अस्पतालमै भयो । ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको शव नर्भिक अस्पतालबाटै निकालिएको थियो ।

प्रकाशको निधनको पुष्टि अस्पतालले गरेको समय र सीताको निधनको पुष्टिको समय पनि उस्तैउस्तै रह्यो । पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन् र अन्तिममा आज छोराको शव निस्किएकै अस्पतालमा उनले देहत्याग गरिन् ।

हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ भनिरहन पर्दैन । सीताको जीवनमा प्रकाशको अर्थ अझ बढी थियो भन्ने उनका दौंतरीहरूले बताउने गर्छन् । छोराको खुसीका लागि उनले कतिपय अवस्थामा पार्टी र परिवारभन्दा माथि उठेर बचाउ समेत गर्थिन् ।

प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत जीवनमा पारिवारिक वियोगको यो तेस्रो बज्रपात हो । १० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।

१० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा छचल्किएको छ । पुत्र वियोगपछि कहिल्यै फर्ममा आउन नसकेकी सीताको उपचारका लागि प्रचण्डले भएजति कुनै उपाय बाँकी राखेनन् ।

देश विदेशका सबै खाले उपचार पद्धतिको प्रयोग गरे । तर, पनि सीता पछिल्ला केही वर्ष ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त स्वास छ’ को अवस्थामा थिइन् । तर, पनि प्रचण्डले सबैखाले पीडा र वेदनालाई लुकाएर आफ्नो गतिशील राजनीतिक जीवनलाई प्रभाव पर्न दिएनन् ।

कुनै पनि बाबुका लागि सन्तान वियोगजस्तो पीडा सम्भवतः केही हुन्न । बाल्यकाल र किशोरवय भूमिगत ढंगले यता उता गर्दै बिताएका प्राणभन्दा प्यारा सन्तानले सुखसयलको लामो अनुभव लिन नपाउँदै संसार छाड्नुपरेको पीडा सायद यो परिवारले पनि महसुस गरेको छ ।

पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने मुख्य पात्र थिइन् सीता दाहाल । जनयुद्धमा प्रचण्ड सुप्रिम कमाण्डर थिए तर सीता दाहाल सुप्रिमोको पनि कमाण्डर थिइन् भन्छन् जनयुद्धकालीन सहयोद्धाहरू ।

हरेक पतिको सफलताको पछि पत्नीको हात हुन्छ भन्ने पूरानो मान्यतालाई मान्ने हो भने प्रचण्ड बन्नुमा सीताको हात छ । सीता पछिल्लो समय अचेत अवस्थामा निकै कष्टकर जीवन व्यतित गरिरहेकी थिइन् ।

प्रचण्ड परिवार आजबाट आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गंगा । यो कम्ती कठोर र पीडादायी क्षण होइन ।

सीताले कष्टकर जीवनबाट मुक्ति पाइन् । यदि अर्को लोक छ भने सम्भवतः उनले आफ्नो मुटुका टुक्रा ज्ञानु र प्रकाशलाई फेरि काखमा लिउन् । बाँकी रहेका दुई सन्तान रेणु र गंगाले प्रचण्डलाई देशको लागि अझै केही उनको हुटहुटी र दृढताको यात्रामा दह्रिलो साथ दिउन् ।

अलविदा सीता दाहाल (पौडेल), तपाईँलाई एक निर्भिक नारीमात्र होइन आदर्श आमाको रूपमा इतिहासले सम्झिरहनेछ ।

बिज्ञापन