राष्ट्रिय समाचार

पालमा बस्दै आएकी बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु

बिज्ञापन

जाजरकोट, मङ्सिर १४ गते । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठाङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।

बिज्ञापन

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस

बिज्ञापन