रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढीको मृत्यु

किएभ : रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ। उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ। त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताए।
केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो। युक्रेनी वायु सेनाका अनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन्। किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकाले यसलाई रोक्न गाह्रो हुन्छ। विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले विभिन्न प्रकारका ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अपार्टमेन्ट भवन र सार्वजनिक संरचनामा प्रहार गरेको बताएका छन्। किएभ सहर प्रशासनले केही क्षेत्रमा क्षेप्यास्त्रबाट खसेको भग्नावशेष खसेको र आगो लाग्न थालेको जनाएको छ। किएभका धेरै इलाकाहरूबाट धुवाँको बाक्लो मुस्लो उठेको थियो। युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मलले सडकमा धेरै मानिस भेला भइरहेका बेला आक्रमण भएको बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
