राष्ट्रिय समाचार

अपराध सिक्ने अखडा बन्दै कारागार : कारागारबाट छुट्नासाथ अर्को अपराध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : साउन २१ गते ज्ञानेश्वरस्थित राजु नेपालीको कोठामा दिउँसै चोरी भयो। सुनका गरगहना र नगद गरी ११ लाख बढीको धनमाल चोरी भएको थियो। यस कार्यमा संलग्न थिए जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका निरज विक। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार डेरामा दीपक खड्का प्रवेश गरेर चोरी गरेपछि सामान लिएर उनी स्कुटरमा भागेका थिए। चोरेको सामान दीपक र निरजले बाँडेर लगेका थिए। 

खड्काको चोरी प्रयास भने पहिलो होइन। उनी डाँकाचोरी मुद्दामा जेल बसेर केही समय अघि छुटेका हुन्। उनी ३ वर्ष जेल बसेर निस्केको अपराध रेकर्डमा भेटिएको छ।

बिज्ञापन

कर्तव्य ज्यान मुद्दाको सजायमा माफी मिनाहा पाएर जेलबाट छुटेका सुभास तामाङले पुन अर्को हत्या गरे। यही साउनको १५ गते उनले मोरङ उर्लाबारीकै २१ वर्षीय युवकको हत्या गरेका हुन्। मोरङको उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुभाष तामाङले लाठी र खुकुरी प्रहार गरेर उर्लाबारी–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन। 

तामाङको पृष्ठभूमि भने अपराधिक प्रकृतिको छ। उनले यसअघि पनि एक युवकको हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दामा उनी २०७१ सालमा जेल परेका थिए। प्रजातन्त्र दिवसको दिन सरकारबाट माफि मिनाहा पाएर उनी २०७६ सालमा छुटेका थिए। उनले मापसे गरेर विवाद भएका विषयमा ढुंगाले हानेर उर्लाबारी–२ का नवीन राईको २०७१ साल असोज ८ गते राति हत्या गरेका थिए। 

उर्लाबारी–मधुमल्ला सडकखण्डमा घाइते अवस्थामा फेला पारेका राईको उपचारका लागि लैजाने क्रममाबाटैमा मृत्यु भएको थियो। सरकारबाट माफी मिनाहा पाएर कारागार मुक्त भएपछि विभिन्न अपराधमा संलग्न भएका तामाङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र अभद्र व्यवहार मुद्दा चलाएको थियो। उनी यसपछि पनि पटक–पटक जेल परेको थिए। अपराधिक पृष्ठभूमिका तामाङले गत साउन १५ गते साँझ आफ्नै घरमा ल्याएर दाहालको हत्या गरेका हुन्।

काठमाडौंको विभिन्न हाइकिङ स्पटहरूमा लुकेर बसी हतियार देखाएर लुटपाट गर्ने मकवानपुरका धनबहादुर स्याङताङ प्रहरी नियन्त्रणमा छन्। उनले यही साउन १२ गते काठमाडौं नार्गाजुन नपा ७ बिन्दवासिनी मन्दिर नजिक जंगलमा गाडीमा सावर व्यक्तिहरूलाई धारीलो हतियार देखाएर लुटपाट गरेका थिए। उनको साथबाट प्रहरीले सुनको १ वटा सिक्री, औठी ४ वटा, ब्रासलेट २ वटा लकेट १ वटा लगायत नगद पनि बरामद गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धनबहादुरको पृष्ठभूमि पनि आपराधिक प्रकृतिको छ। उनले २०६९ सालमा ललितपुरको खोकनामा रहेको बालगृहमा डाका चोरी गरी पीडितलाई जबर्जस्ती करणी गरी भागेका थिए। 

यो कसुरमा उनी ११ वर्ष ७ महिना जेल बसेर २०८० माघमा रिहा भएका थिए। २०८० पछि पनि उनी विभिन्न कसुरमा संलग्न भएका छन्। उनीविरुद्ध चोरी मुद्दामा प्रहरी वृत थानकोट, प्रहरी प्रभाग फर्पिङ तथा विभिन्न प्रहरी कार्यालयमा उजूरी दर्ता भएको छ। 

यी त केही उदाहरण मात्रै हुन्। कुनै अपराध गरेर कारागार चलान भई कैद भुक्तानी गरेर बाहिर आएका व्यक्ति पुन अपराधमा संलग्न हुनु कुनै नौलो विषय हैन। यो एक महिनामा मात्रै करिव ६÷७ जना व्यक्तिहरू दोस्रोपटक अपराधमा संलग्न भएको आरोपमा पुन प्रहरी नियन्त्रणमा छन्। सामान्यतया अपराध गरेको व्यक्तिलाई सुधार गर्ने मनसाय स्वरूप कारागारको परिकल्पना गरिएको पाइन्छ। तर, पछिल्लो समय जेल बसेर आएका व्यक्तिहरू पटक–पटक अपराधमा संलग्न भेटिएका छन्। 

कारागार व्यवस्थापन विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेका अनुसार कारागारलाई सुधारगृह बनाउनकै लागि पहल गरिएपनि संभव नभएको बताए। अपराध अनुसार बेग्लाबेग्लै छुट्टाएर कैदी बन्दीलाई राख्नका लागि भौतिक संरचना नै अपुग भएको उनले बताए। पाण्डे भन्छन्, ‘देशभर भएका कारागारको क्षमता १६ हजार मात्रै हो। तर, ३० हजार हाराहारीमा कैदीबन्दी र थुनुवाहरू रहेका छन्।’ 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार अपराधका विभिन्न प्रकार हुन्छन्। तीन वर्षमुनिको कैद सजाय हुने प्रकृतिका अपराध गर्नेहरूलाई जघन्य अपराध गरेर जेल गएकालाई सँगै कारागारमा राख्न हुँदैन। अपराधको प्रवृति र प्रकृतिअनुसार कैदीबन्दी राखिने ठाउँ पनि फरक–फरक हुनुपर्छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।