राष्ट्रिय समाचार

लामिछानेसमेतलाई आइतबार मुद्दा दर्ता गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीविरुद्ध थप बिगो माग दाबीसहित पूरक अभियोगपत्र दर्ता गरिएको छ । १८ हजार ७ सय जना बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार उनीहरूविरुद्ध थप बिगो माग दाबीसहित पूरक अभियोगपत्र दर्ता गरेको हो । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध भने आइतबार (भोलि) मात्र पूरक अभियोग दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ ।

बिज्ञापन

अभियोपत्र दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएकामा अहिले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर भएको बताए । उनका अनुसार यसअघि १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएकामा अहिले थपेर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ कायम गरिएको हो ।

गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड रुपैयाँ बिगो माग दाबी र ८ देखि १० वर्षसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

३ सय ७५ पृष्ठ लामो अभियोगपत्रमा १९ प्रतिवादीलाई सहकारीको दफा थप, बिगो थप माग दाबी गरिएको निमित्त स्रेस्तेदार लामिछानेले जानकारी दिए । १९ मध्ये १६ जना प्रतिवादीलाई सहकारीको दफा थप, बिगो थपसहित संगठित अपराधको दफा थप गरिएको छ ।

जीबी राईका हकमा मात्र सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनको दफा थपसहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन–२०६८ को दफा थपसहित अभियोग दर्ता हुन आएको उनले बताए । निमित्त स्रेस्तेदार लामिछानेले भने, ‘रास्वपा सभापति लामिछानेको हकमा भने अभियोगपत्र आइसकेको छैन, कानुनको म्यादभित्रै अभियोग आउला ।’ सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी शान्तिदेवी शर्माले लामिछानेसहित थप पाँच जनाको हकमा आइतबार मात्र पूरक अभियोगपत्र दर्ता हुने बताइन् ।

रास्वपा सभापति लामिछाने, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसमेत विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सो प्रतिवेदनअनुसार ५१ जनालाई प्रतिवादीबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ ।

जिल्ला प्रहरी कार्यालयले झन्डै तीन महिना लगाएर गत १ पुसमा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययन विश्लेषण गर्न समय लाग्ने भएपछि अदालतले २ पुसदेखि लागू हुनेगरी लामिछाने, जोशी, जीबीका साझेदार नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं र सहकारीका सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङसमेत पाँच जनाको हकमा अन्तिमपटक ४ दिन म्याद थपको अनुमति दिएको थियो । जसको समयसीमा शुक्रबार (हिजो) मध्यरातदेखि सकिएको छ । शनिबार (आज) सार्वजनिक बिदा परेकाले आइतबार (भोलि) लामिछानेसमेतलाई प्रतिवादी बनाई पूरक अभियोग दर्ता गरिने तयारी छ ।

सहकारी ऐन, २०७४ अनुसार कसुर, दण्ड, जरिमाना र पुनरावेदनबमोजिम १ अर्ब रुपैयाँभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि ८ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा समेत बिगोबमोजिम जरिमाना र सोहीबमोजिम कैद सजाय व्यवस्था कानुनले गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।