इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा. केसीले चेतावनी दिए।

देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने उनले ठोकुवा गरे। उनले भने, ‘अर्बौँ कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने, देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ।’ उनले सत्ताको दुरुपयोग गरी आमनेपाली नागरिकलाई मातृभाषा मेटाउने ग्रान्ड डिजाइनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिकार गर्न आह्वान गरे।
उनले भने, ‘माफिया योजनामा देवनागरी लिपि मेटाउने राष्ट्रघातीहरूले जनतालाई डर, त्रास र धम्की दिएका छन्। यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न अपिल गर्दछौँ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
