राजनीति

सामाजिक सञ्जाल निष्कृय बनाउने निर्णयलाई राष्ट्रियताको मुद्दा बनाउन प्रधानमन्त्रीको आह्वान 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्कृय बनाउने निर्णय राष्ट्रियता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको मुद्दा भएकाले एकजुट बन्न राजनीतिक दल र नागरिकहरुलाई अपील गरेका छन् ।

एक वर्षदेखि दर्ता हुन पटक–पटक आह्वान र अनुरोध गर्दा पनि कतिपय सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले नेपालको संविधान र कानुन केही पनि मान्दिन र थाहा छैन भन्ने जवाफ फर्काएर देशकै अपमान गरेको भन्दै प्रधानमन्त्री ओलीले आइतबार यस्तो अपिल गरेका हुन् ।

बिज्ञापन

‘एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता होऊ, नेपाललाई कर तिर, उत्तरदायी बन भन्दा तिमीहरूको संविधान थाहा छैन, मतलब छैन भन्ने जवाफ दिएर अटेरी गर्ने, तिर्नुपर्छभन्दा तथाकथित बुद्धिजीवीहरु र चारजना मान्छेको जब खोसियो रे । चारजना मान्छेको जब ठूलो की, राष्ट्रिय स्वाभिमान ठूलो ? चार दिनका लागि चारजनाको जब खोसिन्छ होला तर हामी फेरि जबहरू स्थापना गर्नेछौं । उनीहरु आएर आफैं सञ्चालन, आफै परिचालन, आफै उपभोक्ता हुन सक्दैनन् । हामी नै हो उपभोक्ता । उपभोक्ता मात्रलाई नटेर्दा, मनपरी गर्दा पनि हामीले सहेका थियौं तर यहाँ त राष्ट्रलाई नै अपमान गरेर, अटेर गरेर संविधान र कानुन मान्दिन भनेर गर्दा पनि प्रतिबन्ध लगाइएन, कानुनबमोजिम चल भन्न नपाईने ?’ पार्टीको विधान महाधिवेशनमा प्रधानमन्त्री ओलीले भने । 

देशलाई पटक पटक अपमान गर्दा कुनै पनि स्वाभिमानी र स्वतन्त्र देश मात्र नभएर त्यस देशका नागरिक समर्पण गरेर चुप लागेर बस्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाभिमान जस्तो पहिलो र प्राथमिक मुद्दालाई खेलाचीका रुपमा नलिन राजनीतिक दलदेखि नागरिकहरूलाई अपीलसमेत गरे । 

‘संसारको कुनै देशले यस्तो पनि निरीहता देखाउनसक्छ ? तेरो देशको कानुन मान्दिन भनेर ठाडै उल्लंघन गर्दा पनि चुप लागेर बस्ने देश हुन्छ ? त्यो देशले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय स्वाधिनताको कुरा गर्न सुहाउँछ ? हामी अनि स्वाभिमान, राष्ट्रियता र स्वतन्त्रताको कुरा गर्छौं । स्वतन्त्रता भनेको पहिला मानिसकतामा चाहियो नी । हामीले भोकै बसेर पनि स्वाधिनता जोगाएका हौं, नाकाबन्दी सहेका हौं त्यसकारण म भन्न चाहान्छु, हामी अरु जुनसुकै कुरा सहन तयार छौं, राष्ट्रलाई हेपेको कुरा सहन तयार छैनौं । मलाई जसले जतिसुकै हेपोस् मतवलव छैन, म मजाले हेपिन तयार छु तर देशलाई हेपेको सहन सकिदैंन,’ प्रधानमन्त्रीले भने, ‘हाम्रो देशलाई हेप्न, होच्याउन नखोज, हाम्रो स्वाभिमानमा ठेस पु¥याउन नखोज । त्यति भन्न नसक्ने बुद्धिजीवहरू रिदम मिलाएर कविता हो जिन्दगी, कविता हो राष्ट्रियता ? छन्द हो सिमना ? तोकबन्दी हो सिमाना ? नेपालका सबै राजनीतिक दलहरुलाई भन्न चाहान्छु–निरीहता प्रकट नगर्नुस् । क्षणिक स्वार्थमा लुब्ध नहुनुस् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।