गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी

जेन–जीको प्रदर्शनका क्रममा २४ भदौमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आइतबार पुनः आगजनी भएको छ ।
पोखराको राष्ट्र बैंक चोकनजिकै रहेको मुख्यमन्त्रीको निवासमा २४ भदौमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको र आगजनीबाट बचेको एउटा कोठामा समेत आइतबार बिहान अज्ञात समूहले आगजनी गरिदिएका हुन् ।

हाल सरसफाइको काम हुँदै गरेको भवनको ताला लगाएको मुख्य गेटमाथिबाट भवनपरिसरमा प्रवेश गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । कार्कीका अनुसार आइतबार बिहान करिब २ बजेतिर आगजनी भएको हो ।
आगलागीको सूचनापछि खटिएको प्रहरी टोलीले घटनास्थल हेर्दा लागुऔषध प्रयोगकर्ताहरू भवनमा छिरेर आगो लगाएकोजस्तो देखिएको उनले बताए । लागुऔषध प्रयोगका केही प्रमाणहरू आगलागी भएको स्थानमा भेटिएकाले लागुऔषध प्रयोगकर्ताहरूले नै आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको रहेको प्रमुख कार्कीले जानकारी दिए ।
आगलागी भएको स्थानमा केही गाँजा भेटिएकाले गँजडी समूहले आगजनी गरेको आशंका प्रहरीको रहेको छ ।
आगजनीका कारण भवनमा जल्न बाँकी रहेका कागजपत्र, जल्न बाँकी खाट, कार्पेटलगायत सामानहरू निवासपरिसरमा रहेको एउटा कोठामा राखिएको थियो । आगजनीबाट सबै जलेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आगलागीपछि खटाइएको प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार सो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भनिएपछि हाल सरसफाइ र मर्मतको काम भइरहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
