सकुन्जेल पार्टीको नेतृत्व गर्छु, तत्काल हस्तान्तरण गर्दिनँ : ओली

एमाले अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व हस्तान्तरण नगर्ने संकेत गरेका छन् । केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकको सँघारमा जिल्ला र प्रदेश अध्यक्षहरूसँग तीन दिनदेखि भर्चुअल संवादमार्फत सुझाव लिइरहेका ओलीले नेतृत्व नछाड्ने संकेत गरेका हुन् ।
एमालेले २४ र २५ असोजमा केन्द्रीय सचिवालय र २७ असोजमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । ‘पार्टीको शिर निहुरिन कहिल्यै पनि दिन्नँ, सक्रियताका हिसाबले दिन्नँ, विचारका हिसाबले दिन्नँ । जबसम्म सक्छु तबसम्म गर्छु, सकिनँ भने छोडिदिन्छु,’ जिल्ला र प्रदेश नेतृत्वहरूसँगको छलफलमा ओलीको भनाइ थियो ।

जेन–जी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम र अबको बाटोबारे ब्रिफिङ गर्दै सुझाव लिएका उनले एमाले राष्ट्रियता, देश र जनताको सवालमा कसैसँग नझुकी अगाडि बढ्ने बताए । मानसिक र शारीरिक दुवै हिसाबले पार्टीलाई नेतृत्व गर्न सक्षम रहेको सन्देश दिँदै ओलीले जेन–जी आन्दोलनका क्रममा जे–जस्ता हिंसात्मक घटना भए ती सबै नियोजित षड्यन्त्रका रूपमा भएको दाबीसमेत गरे ।
आफू, पार्टी र देशविरुद्ध एकैसाथ षड्यन्त्र गरिएको भन्दै उनले नेतृत्व नछोड्ने निर्णय पनि त्यसकै प्रतिक्रियाका रूपमा बैठकबाटै गर्ने योजनामा रहेको संकेत गरेका थिए ।
पार्टीभित्र पुनर्गठन र पुस्तान्तरणको विषयमा उठेका चर्चाप्रति संकेत गर्दै उनले त्यो ‘नचाहिने हल्ला’ मात्र भएको भन्दै पार्टीको आन्तरिक छलफलले नै उपयुक्त निर्णय गर्ने भन्दै कोही तरंगित हुन जरुरी नरहेको प्रस्ट्याएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
