राष्ट्रिय समाचार

हमासले जीवित छाड्ने २० बन्दीको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम नअटाउँदा बढ्यो चिन्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासद्वारा मुक्त गरिने भनिएका २० जना युद्धबन्दीको सूची सार्वजनिक भए पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश नहुँदा उनको अवस्थाबारे अन्योल थपिएको छ। अमेरिकी पहलमा भएको युद्धविरामपश्चात् हमासको कब्जामा रहेका ५० जनालाई रिहा गर्ने सहमति भएको थियो, जसमध्ये पहिलो चरणमा २० जनालाई सोमबारभित्रै छाड्ने बताइएको छ। तर, यस सूचीमा सबै इजरायली नागरिक रहेका र विपिन जोशीको नाम नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन्।

गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाइएको थियो। सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। त्यसयता विपिनको अवस्था अज्ञात नै छ। सन् २०२३ नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएको खबर आए पनि त्यसपछि उनको कुनै ठोस जानकारी सार्वजनिक भएको छैन। हालै सार्वजनिक भएको ३३ सेकेन्डको भिडियो पनि पुरानो भएको राजदूत पण्डितले बताएका छन्।

बिज्ञापन

राजदूत पण्डितले विपिनको अवस्था पत्ता लगाउन इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। उनले भने, “अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन। उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं।” परराष्ट्र मन्त्रालयका कर्मचारीहरू पनि विपिनको खोजीमा लागेको बताएका छन्, तर कुनै सफलता मिलेको छैन। मन्त्रालय स्रोतका अनुसार, इजरायल सरकारको तर्फबाट विपिनको ‘जुनसुकै अवस्था’ को सूचना आउन सक्ने भन्दै परिवारलाई मानसिक रूपमा तयार रहन खबर आएको छ, जसले परिवारमा थप चिन्ता बढाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।