दुई महिनादेखि कोशीका मुख्यमन्त्री कार्कीको वास प्रहरी गेस्टहाउसमा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की दुई महिनादेखि प्रहरीको गेस्ट हाउसमा बस्दै आएका छन् । विराटनगरको कोशी प्रोजेक्टस्थित निवास जेन–जी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले आगजनी र तोडफोड गरेर बस्न नमिल्ने गरी क्षति पुर्याएपछि उनी दुई महिनादेखि विराटगरको रानीस्थित प्रदेश प्रहरीको गेस्ट हाउसमा बस्दै आएका हुन् ।
जेन–जी आन्दोलन विध्वंशमा परिणत भएपछि विराटनगरको रोडशेष चोकस्थित मन्त्रिपरिषद्को कार्यालयबाट निस्किएका मुख्यमन्त्री कार्की एक सातासम्म सम्पर्कमा आएका थिएनन् । अवस्था अनुकूल भएपछि मात्र सार्वजनिक भएका र हालसम्म कडा सुरक्षा घेरामा बस्दै आएका कार्की आफ्नो निवासमा भने अझै बस्न पाएका छैनन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको मुख्यमन्त्रीको निवास कोशी सरकारको भौतिक निर्माण मन्त्रालयले विशेष अवस्थाअन्तर्गत २० लाखको कोटेसनमा धमाधम पुनर्निर्माण भइरहेको छ । ठेकेदारका अनुसार मुख्यमन्त्रीनिवास बस्ने गरी तयार हुन मंसिर दोस्रो साता लाग्नेछ ।
राजनीतिक विश्लेषक तथा अन्य दलका नेताहरू भने मुख्यमन्त्रीजस्तो व्यक्ति दुई महिनासम्म प्रहरीको ब्यारेकभित्र रहेको गेस्ट हाउसमा बसिरहनु उचित नहुने बताउँछन् । ‘अवस्था सहज भएसँगै विराटनगरमा घरभाडा लिएर बसेको भए सन्देश राम्रो जाने थियो, तर मुख्यमन्त्री कार्की निकै डराएको देखियो । अहिले पनि उनी प्रहरीको कार्यालय र ब्यारेकसँगै रहेको गेस्ट हाउसमा बसिरहेका छन् । कडा सुरक्षा घेरामा घुमफिर गरिरहेका छन्, यसले राम्रो सन्देश गएको छैन,’ मन्त्रिपरिषद् कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
नेपाली सेनाको युनिटले सुरक्षा प्रदान गर्ने गरेको कोशीका मुख्यमन्त्रीनिवास जेन–जी आन्दोलनमा बन्दुकुधारी सेनाकै अगाडि आगजनी र तोडफोड भएको थियो । २४ भदौमा जेन–जी आन्दोलनमा ध्वंश सुरु हुँदा मुख्यमन्त्री कार्की मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आफ्नै कक्षमा थिए । मन्त्रिपरिषद् कार्यालय पनि जलाइने सूचना पाएपछि उनी दिउँसो २ बजेतिर टेम्पो चढेर चार किमि दक्षिण रानीमा रहेको प्रदेश प्रहरी कार्यालयमा शरण लिन गएका पुगेका थिए । २५ भदौमा उनी कडा सुरक्षामा सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतनामा बस्न पुगेका थिए । प्रत्यक्षदर्शी कर्मचारीका अनुसार कार्यालयबाट निस्किएर कडा सुरक्षा घेरामा नगएको भए अराजक समूहले मुख्यमन्त्री कार्कीमाथि पनि आक्रमण गर्ने सम्भावना धेरै थियो । मुख्यमन्त्री कार्की दिउँसो २ बजेतिर निस्किएर सुरक्षाकर्मीको शरणमा गएपछि आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी र तोडफोड गरेर उनको कार्यकक्षसहित भवन पनि ध्वस्त बनाएका थिए । जेन–जी आन्दोलनपछि भदौ महिनाभरि मुख्यमन्त्री कार्की फोनमा समेत सम्पर्कविहीन भएका थिए ।
जेन–जी आन्दोलनका क्रममा २४ भदौमा विराटनगरमा कोशी प्रदेश सभा, सिडिओ कार्यालय, महानगरपालिकाको मुख्य भवन र वडा कार्यालय, भाटभटेनी सुपर मार्केट, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सरकारका सबै मन्त्रालय र संघ प्रदेश सरकारका प्राय: सबै कार्यालय जिल्ला र उच्च अदालतलगायतका सार्वजनिक र निजी संरचनामा आगजनी र तोडफोड भएको थियो । कोशी प्रदेश सभा कार्यालय भने कृषि थोक बजारको भवनमा स्थापना गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
