राष्ट्रिय समाचार

वाइडबडी भ्रष्टाचार मुद्दामा विशेषको फैसलाउपर अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बहुचर्चित वाइडबडी जहाज खरिदसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

आफ्नो मागदावीबमोजिम फैसला नभएको भन्दै त्यसउपर मंगलवार अख्तियारले पुनरावेदन गरेको हो । आपूर्तिकर्ता कम्पनी र त्यसका पदाधिकारीसँग मिलेमतो गरी जहाज खरिदमा बद्नियत राखी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २२ चैत ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

२३ अर्ब ७७ करोडका दुई वटा वाइडबडी खरिद गर्दा एक अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियारले त्यसमा संलग्न भएको भन्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव र ठेकेदारसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले मूल्यवृद्धिबापत आपूर्तिकर्तालाई बढी भुक्तानी भएको रकम र विमानको घटेको ‘मेजर टेक्निकल स्पेसिफिकेसन’मा भारवहन क्षमतामा भुक्तानी भएको रकमलाई भ्रष्टाचार ठहर गरेर मुद्दा दायर गरेको थियो । मूल्यवृद्धिबापत आपूर्तिकर्तालाई बढी भुक्तानी भएको ६७ लाख ८८ हजार एक सय नौ अमेरिकी डलर अर्थात् ७४ करोड ५८ लाख ७७ हजार चार सय ८२ रुपैयाँ र घटेको विमानको भारवहन क्षमताको समेत आपूर्तिकर्तालाई भुक्तानी भएको ६६ लाख अमेरिकी डलर अर्थात् ७२ करोड ५२ लाख आठ हजार रुपैयाँलाई हानिनोक्सानी पु¥याएको मानेर त्यसैका आधारमा बिगो कायम गरेको थियो । तर, मुद्दामा विशेष अदालतले आंशिक ठहर गरिदिएको थियो । २० मंसिर ०८१ मा मुद्दाको फैसला गर्दै विशेषले ३२ प्रतिवादीमध्ये ११ जनालाई दोषी ठहर गरेर बाँकीलाई सफाई दिएको थियो ।

मुद्दाका प्रतिवादी तत्कालीन मन्त्री शाहीलाई सफाइ दिइएको थियो । पर्यटन मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, भन्सार विभागका तत्कालीन महानिर्देशक रहेका पूर्वसचिव शिशिरकुमार ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई जनही डेढ वर्ष कैद र १२ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो । आपूर्तिकर्तातर्फ नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडकै क्रिश्चियन निह्लेनलगायत सातजनासमेत दोषी ठहर भएका थिए । मुद्दामा आफ्नो मागदावी, विशेष अदालतको फैसला र फैसला गर्दा लिएका आधारसहित प्रस्तुत गरेर अख्तियारले पुनरावेदनको दावीसहित सर्वोच्च गएको छ ।

‘प्रतिवादीहरूलाई कैद र जरिवाना सजायको हकमा बिगो दामासाहीले गर्ने गरी अभियोग मागदावी बमोजिम सबै प्रतिवादीहरुलाई सजाय नगरी केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाई दिएको, साथै अभियोग मागदाबी बमोजिम प्रतिवादीहरुले गरेको भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ कसूरजन्य कार्यतर्फ केही नबोली भएको उपरोक्त फैसलाउपर चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।’ अख्तियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।